काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन आयोगका पदाधिकारीहरूसँग बिहीबार भएको छलफलमा गृहमन्त्री अर्यालले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीसँग निर्वाचन आयोगमा भएको छलफलमा निर्वाचनको शान्तिसुरक्षा तथा समग्र व्यवस्थापकीय तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।
छलफलका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउँदै भयमुक्त वातावरण सिर्जना गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाएको बताए।
उनले मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलगायत सबै सरोकारवालाको सुरक्षाका लागि भरपर्दो व्यवस्था मिलाइएको जानकारी दिए। निर्वाचन कार्यतालिकासँग तालमेल हुने गरी गृह मन्त्रालयले सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ थियो।
आपराधिक तथा निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कडा रूपमा प्रस्तुत हुन स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको गृहमन्त्री अर्यालले बताए।

