काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल तथा रासन बापतको दैनिक रकम बढाउने निर्णय गरेको हो।
गृहमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार उक्त निर्णय आगामी फागुन १ गतेदेखि लागू हुने गरी गरिएको हो।
‘२०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता अर्यालले बताए।
यद्यपि, रासन रकम कति प्रतिशत वा कति रुपैयाँले वृद्धि गरिएको हो भन्ने विवरण भने सरकारले सार्वजनिक गरेको छैन। नेपाल प्रहरीका तल्लो तहदेखि उच्च तहसम्मका कर्मचारीहरूका लागि रासन भत्तामा वृद्धि गरिएको निर्णयलाई पछिल्लो समय बढ्दो महँगीसँग जोडेर हेरिएको छ।

