२०८३, आश्विन २० गते

images
  • समाचार
  • भ्यालेन्टाइन्स : ४ लाख ५० हजार...

भ्यालेन्टाइन्स : ४ लाख ५० हजार गुलाफको माग, ७०% आयात

भ्यालेन्टाइन्स : ४ लाख ५० हजार गुलाफको माग, ७०% आयात

सीएनएन खबर
बिहिवार, माघ २२ २०८२०७:४८
सीएनएन खबर
बिहिवार, माघ २२ २०८२०७:४८
  • images

    काठमाडौं। प्रेमको उत्सवका रूपमा मनाइने ‘प्रणय दिवस’ (भ्यालेन्टाइन्स डे) सप्ताहमा नेपालमा करिब साढे ४ लाख स्टिम गुलाफको माग हुने अनुमान गरिएको छ। तर, प्रतिकूल मौसमका कारण आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्दा यस वर्ष पनि नेपाल गुलाफमा परनिर्भर हुनुपर्ने देखिएको छ।

    फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चल्ने भ्यालेन्टाइन्स सप्ताहमा करिब ४ लाख ५० हजार स्टिम डच रोज (गुलाफ) खपत हुने अनुमान छ। माग उच्च रहे पनि जाडो मौसमका कारण उत्पादन कम हुँदा आन्तरिक उत्पादनले करिब ३० प्रतिशत मागमात्र पूरा गर्नेछ। बाँकी ७० प्रतिशत गुलाफ भारतलगायत देशबाट आयात गर्नुपर्ने अवस्था छ।

    फ्यानका अनुसार जाडो मौसममा गुलाफ फुल्ने प्रक्रिया ढिलो हुने र उत्पादन घट्ने भएकाले फेब्रुअरी महिनामा आत्मनिर्भर हुन कठिन हुँदै आएको छ।फ्यानका महासचिव हिरामणि शर्माले भ्यालेन्टाइन्स डे बाहेक अन्य समयमा नेपाल प्रायः आत्मनिर्भर उन्मुख भए पनि यही एक साताको अत्यधिक माग व्यवस्थापन गर्न आयात अपरिहार्य हुने बताए। “अन्य समयमा हामी आत्मनिर्भर जस्तै छौँ,” शर्माले भने, “तर भ्यालेन्टाइन्स सप्ताहमा जाडो मौसम र एकैपटक बढ्ने मागका कारण आयातको विकल्प रहँदैन।”

    उनका अनुसार वर्षभरि उत्पादन निरन्तर राख्न ‘हाइटेक ग्रिनहाउस’ जस्ता प्रविधिको आवश्यकता भए पनि हालको अवस्थामा त्यस्तो संरचना पर्याप्त छैन।

    गुलाफ महँगो हुँदै, प्रतिस्टिम १५० रुपैयाँसम्म

    आयातमा निर्भरता र अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले यस वर्ष गुलाफको मूल्य अघिल्लो वर्षको तुलनामा महँगो हुने देखिएको छ। फ्यानका अनुसार यस वर्ष प्रतिस्टिम गुलाफको उपभोक्ता मूल्य १ सयदेखि १ सय ५० रुपैयाँसम्म पर्न सक्ने अनुमान छ। गत वर्ष सोही अवधिमा गुलाफको मूल्य ९० देखि १ सय २० रुपैयाँसम्म थियो।

    महासचिव शर्माका अनुसार भारतमै गुलाफको मूल्य करिब २० प्रतिशतले बढेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।“भारतबाट महँगोमा आएपछि यहाँ पनि मूल्य बढ्नु स्वाभाविक हो,” उनले भने, “साथै सजावट, प्याकेजिङ र पसलअनुसार मूल्यमा केही फरक पर्न सक्छ।” फ्यानका अनुसार आयातित र स्वदेशी गुलाफको गुणस्तरमा भने खासै भिन्नता छैन।

    साढे ५ करोडभन्दा बढीको कारोबार अनुमान

    भ्यालेन्टाइन्स सप्ताहमा गुलाफको कारोबार करिब ५ करोड ६२ लाख रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको छ। गत वर्ष सोही अवधिमा करिब ४ लाख २५ हजार स्टिम गुलाफको कारोबार भएको थियो।

    तर, कुल कारोबारको करिब ७० प्रतिशत हिस्सा आयातित गुलाफमा निर्भर रहने भएकाले ठूलो रकम विदेशिने अवस्था छ। अनुमान अनुसार करिब ३ करोड ९३ लाख रुपैयाँ बराबरको गुलाफ भारतबाट आयात हुनेछ।

    काठमाडौं उपत्यकामा सर्वाधिक खपत

    कुल मागको करिब ६० प्रतिशत अर्थात् २ लाख ७० हजार स्टिम गुलाफ काठमाडौं उपत्यकामा खपत हुने अनुमान गरिएको छ। बाँकी ४० प्रतिशत गुलाफ पोखरा, धरान, चितवन, विराटनगरलगायत सहरहरूमा खपत हुनेछ। सामान्य दिनमा भने नेपालमा दैनिक ८ देखि १२ हजार स्टिम गुलाफको माग रहने गरेको फ्यानले जनाएको छ।

    हाल काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक र रुपन्देहीमा व्यावसायिक रूपमा गुलाफ खेती हुँदै आएको छ भने अन्य जिल्लामा पनि यसको विस्तार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend