काठमाडौं । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक र समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने तर निश्चित रकम तोकेर चन्दा माग्न नपाइने स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको सीमाभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न कुनै रोक नहुने बताए। तर उम्मेदवार वा दलले कसैसँग पनि निश्चित रकम तोकेर चन्दा माग्न नपाइने उनले प्रष्ट पारे।
‘निर्वाचनका लागि चन्दा ऐनअनुसार व्यवस्था गरिएको छ। प्रचार–प्रसारका लागि शुभेच्छुक र समर्थकबाट सहयोग लिन पाइन्छ, तर उम्मेदवार वा दलले “मलाई यति रकम दिनुपर्छ” भनेर कसैलाई तोकेर माग्न पाउँदैन,’ प्रवक्ता भट्टराईले भने, ‘स्वेच्छाले सहयोग गर्न चाहनेले निर्वाचन प्रयोजनका लागि खोलिएको खातामा रकम जम्मा गर्न सक्छन्।’
उनका अनुसार उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधान छ र सो खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न पाइँदैन।‘छुट्टै खाता खोल्ने उद्देश्य नै दुरुपयोग नहोस् भन्ने हो। यदि संकलित रकमको दुरुपयोग भएमा त्यसको सम्बोधन कानुनअनुसार हुन्छ,’ उनले स्पष्ट पारे।
यसैबीच, प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको जानकारी दिए। तीमध्ये ७ हजार १३७ वटा मतपेटिका (बाकस) प्याकिङ भइसकेको आयोगले जनाएको छ।उनका अनुसार हालसम्म ३२ जिल्लाका लागि आवश्यक मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्ण भइसकेको छ भने बाँकी जिल्लाहरूको मतपत्र छपाइ तथा व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको छ।

