काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार आइतबार दिउँसो १ बजेर २५ मिनेटको मापनमा काठमाडौँको वायु गुणस्तर १५१ एक्यूआई पुगेको छ, जुन अस्वस्थकर श्रेणीमा पर्छ।
आज बिहान काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा सूचीकृत भएको थियो। पछिल्लो विवरणअनुसार काठमाडौँ अहिले नवौँ स्थानमा रहेको छ। आज विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्यूआई मापन गरिएको छ।
विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को मापदण्डअनुसार मानव स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। यद्यपि ५० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआईलाई ‘होसियार’ श्रेणीमा राखिन्छ भने १०१ देखि १५० सम्मको एक्यूआई श्वासप्रश्वास तथा मुटुरोगीका लागि जोखिमपूर्ण मानिन्छ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर, २०१ देखि ३०० सम्म अति अस्वस्थ, ३०१ देखि ४०० खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अत्यन्त खतरनाक श्रेणीमा राखिन्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माण गतिविधिका कारण उपत्यकामा वायु प्रदूषण बढेको हो।
‘औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सीमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले समेत असर पारेको छ,’ उनले भने, ‘पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना छ।’
सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिएको बताए। वायु प्रदूषण न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइमा ब्रुमर तथा भ्याकुम प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीका लागि विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा समेटिएको उनले जानकारी दिए।

