काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सदाचार र सुशासन स्थापनाको ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरेकी छन्। उनले प्रतिनिधि सभालाई स्वच्छ छवि, नैतिकता र भ्रष्टाचारविरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिको थलो बनाउन सबैलाई आह्वान गरेकी हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको स्पष्ट पारिन्। कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुनुपर्ने उनको धारणा थियो।
‘भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना, कानूनी र नीतिगत व्यवस्था छन्। तर पनि अपेक्षाकृत रूपमा भ्रष्टाचार किन नियन्त्रण हुन सकेको छैनरु’ प्रधानमन्त्री कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको मुख्य जिम्मेवारी सरकार र कार्यकारी अङ्गको हो। प्रत्येक निकायका प्रमुखले आफ्नै संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ।’
उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बाहिरका संरचनातर्फ मात्र आशा गरेर सुधार सम्भव नहुने बताइन्। जबसम्म प्रत्येक कार्यालयले आफ्नै आन्तरिक उत्तरदायित्व बोध गर्दैन, तबसम्म प्रभावकारी सुधार हुन नसक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले जेनजी युवाको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन राहदानी, नागरिकता लगायतका सेवामा सरलीकरण गरिएको दाबी गरिन्। सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताइन्।
आगामी निर्वाचनलाई सदाचार स्थापनाको महाअभियानका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले स्वच्छ छवि र भ्रष्टाचारविरुद्ध दृढ प्रतिबद्धता भएका उम्मेदवार छनोट गर्न मतदातासँग अपिल गरिन्।
‘आउँदो फागुन २१ को निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको महाअभियानका रूपमा लिऔँ। स्वच्छ छवि र भ्रष्टाचारविरुद्ध प्रस्ट अडान भएका जनप्रतिनिधिबाट प्रतिनिधि सभा निर्माण गरौँ,’ उनले भनिन्।
विगतका राजनीतिक अस्थिरता र भ्रष्टाचारका घटनाले नागरिकमा निराशा पैदा गरेको भए पनि आगामी निर्वाचनले नयाँ आशा र सकारात्मक दिशा दिने विश्वास उनले व्यक्त गरिन्। निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई राज्य संयन्त्रलाई शुद्धीकरण गर्ने महत्वपूर्ण अवसर भएको उनको भनाइ थियो।

