काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको विवादित मतपरिणाम अन्ततः सार्वजनिक भएको छ। सोमबार साँझ निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
नेकपा कार्यकर्ता तथा समर्थकहरूको दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
यसअघि निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेपछि मतपरिणामबारे दुई पटक फरक निर्णय गर्दै आएको थियो, जसका कारण उक्त क्षेत्रको परिणाम विवादमा परेको थियो। आयोगले पहिलो पटक साहको मतपत्रको छुट्टै लगत राखी मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो।
तर रास्वपाको दबाबपछि आइतबार बेलुका सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको कारण देखाउँदै मतपरिणाम तत्काल सार्वजनिक नगर्न भनिएको थियो। त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले नतिजा रोकेको थियो। निर्णय फेरिएपछि नेकपा कार्यकर्ताहरू आइतबार बेलुकादेखि आन्दोलनमा उत्रिएका थिए।
यसैबीच नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा प्रमाणपत्र वितरण रोक्नु कानुनसम्मत नदेखिएको बताएका थिए।
पछि सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले यादवलाई प्रमाणपत्र दिने निर्णय गरेको हो। अदालतले अर्को सुनुवाइका लागि आगामी २९ गतेको मिति तोकेको छ। त्यतिन्जेल नतिजा रोकेर राख्दा असर पर्ने भएकाले हाललाई प्रमाणपत्र दिने निर्णय गरिएको जनाइएको छ।
मतपरिणामअनुसार नेकपाका उम्मेदवार मातृका यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामपलटन साहले ९ हजार ५०२ मत ल्याएका छन् भने नेकपा (एमाले) का रामचन्द्र मण्डलले ९ हजार ३२५ मत प्राप्त गरेका छन्।
यद्यपि उम्मेदवारी खारेज गरिएका रास्वपाका उम्मेदवार किशोरी साहले भने ३० हजार ४९१ मत प्राप्त गरेका थिए।

