काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।
संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको थियो ।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।
निगमको नायब कार्यकारी निर्देशकको संयोजकत्वमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए ।

