२०८३, आश्विन २० गते

images

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्छ: नेपाली कांग्रेस

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्छ: नेपाली कांग्रेस

सीएनएन खबर
शनिवार, चैत्र १४ २०८२०६:१२
सीएनएन खबर
शनिवार, चैत्र १४ २०८२०६:१२
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष, कानूनसम्मत र पूर्वाग्रहरहित छानबिन गरी दोषीलाई कारबाही गर्न पुनः माग गरेको छ। पार्टीले प्रारम्भदेखि नै दुवै दिनका घटनाबारे उच्चस्तरीय छानबिन हुनुपर्ने अडानमा आफू दृढ रहेको जनाएको छ।

    कांग्रेसका अनुसार भदौ २५ गते नै पार्टीले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो। त्यसपछि भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दुवै दिनका घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो।

    निर्वाचनपछिको चैत्र ६ देखि ८ गतेसम्म बसेको नेपाली कांग्रेसको बैठकले पनि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको थियो। कांग्रेसले भदौ २३ गते भएको राज्य शक्तिको दुरुपयोग तथा भदौ २४ गतेको विध्वंशका घटनामा संलग्न दोषीमाथि कानूनबमोजिम कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न पुनः जोड दिएको छ।

    पार्टीले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारको भूमिका अपारदर्शी रहेको आरोप लगाएको छ। कांग्रेसका अनुसार प्रतिवेदन विधिसम्मत ढंगबाट अहिलेसम्म सार्वजनिक गरिएको छैन, तर त्यसका अंश सञ्चारमाध्यममार्फत बाहिरिएका छन्। बाहिर आएका विवरणका आधारमा आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा हेरे पनि भदौ २४ का घटनालाई नजरअन्दाज गरेको देखिएको कांग्रेसको भनाइ छ।

    कांग्रेसले प्रतिवेदनमा भदौ २४ का घटनाबारे छानबिन गर्न नभ्याएको भन्ने कुरा आएको उल्लेख गर्दै त्यसो हो भने प्रतिवेदन एकपक्षीय र अपूर्ण भएको जनाएको छ। साथै, यसले आयोगको निष्पक्षतामाथि उठेका प्रश्नलाई थप बल पुग्ने दाबी पनि गरेको छ।

    त्यस्तै, तत्कालीन सरकारले प्रतिवेदन अध्ययनपछि मन्त्रिपरिषद् बैठकमा पेश गरी संघीय संसद्मा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय गरेको अवस्थामै चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने तर अन्य सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। एउटै घटना, एउटै प्रतिवेदन र एउटै सिफारिसमा पनि सरकारको व्यवहार ‘सेलेक्टिभ’ देखिएको पार्टीको आरोप छ।

    कांग्रेसले कानूनको स्थापित प्रक्रिया पालना नगरी हतारमा निर्णय र पक्राउ गरिनुले न्यायको प्रक्रियालाई झन् जटिल बनाउने चेतावनी दिएको छ। पार्टीका अनुसार सरकारले निष्पक्ष छानबिन र न्याय निरुपणभन्दा घटनामा थप राजनीति गर्न खोजेको देखिन्छ।

    नेपाली कांग्रेसले सम्बन्धित व्यक्ति र संस्थामाथि निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान, अभियोजन तथा सम्पूर्ण कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा आफू स्पष्ट रहेको जनाएको छ। साथै, भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्ने पार्टीको धारणा छ।

    कांग्रेसले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्नेमा आफ्नो समर्थन रहने जनाएको छ। तर कारबाही उत्तेजना र आवेगमा होइन, कानूनी प्रक्रियाअनुसार हुनुपर्ने भन्दै सरकारले संयमित र परिपक्व व्यवहार नदेखाए कानूनको शासन कमजोर हुने, देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend