काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
प्रहरीले आइतबार पक्राउ गरेका खड्कालाई सोही दिन अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोमबार बिहान करिब ३ बजे त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। हाल उनी अस्पतालको १०२९ नम्बर बेडमा उपचाररत छन्।
खड्कालाई भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो। गृहमन्त्री सुधन गुरुङका अनुसार उक्त रकम जलेको अवस्थामा फेला परेपछि त्यसको स्रोत र प्रकृतिबारे अनुसन्धान अघि बढाइएको छ।
यस सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले खड्काको घरबाट जलेका नोटका टुक्रा तथा वरपरको खरानी संकलन गरी परीक्षण गरिरहेको छ। उक्त घटनाले सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आशंका उत्पन्न गरेको बताइएको छ।
यसैबीच, सोही आन्दोलनसँग जोडिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। उनलाई शनिबारदेखि चिकित्सकको निगरानीमा राखिएको छ।

