काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई विषयगत विज्ञताका आधारमा सम्बन्धित मन्त्रालयमा खटाउने तयारी अघि बढाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार हाल यसबारे गृहकार्य भइरहेको छ, यद्यपि औपचारिक रूपमा खटाइसकिएको भने छैन। “तयारी भइरहेको हो, खटाइसकेको छैन, गृहकार्य गर्दै छौं,” उनले भने।
रास्वपाले सांसदलाई भविष्यका सम्भावित मन्त्रीका रूपमा हेर्दै उनीहरूको क्षमता अभिवृद्धिका लागि मन्त्रालयमा खटाउने अवधारणा अघि सारेको जनाएको छ। “सांसद भनेको भविष्यको मन्त्रीसमेत हो, उसको लागि ट्रेनिङ पनि हुन्छ,” प्रवक्ता झाले बताए।
पार्टीका अनुसार केही सांसदहरूले आफ्नो विज्ञता रहेको मन्त्रालयमा गएर मन्त्रीलाई सहजीकरण गर्दै सहयोगसमेत गरिरहेका छन्। यसले निर्णय प्रक्रिया छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाले जनभावनाअनुसार छिटो, छरितो र परिणाममुखी काम गर्न सांसदहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको जनाएको छ। यसैगरी सांसदसँगै पार्टीका केन्द्रीय विभागका सदस्यहरूलाई पनि मन्त्रालयमा खटाउने तयारी भइरहेको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्दै सरकार गठन गरेको थियो। बालेन्द्र शाह को नेतृत्वमा चैत १३ गते नयाँ सरकार गठन भएको थियो।
यसैबीच, प्रधानमन्त्री शाहले सरकार सञ्चालनलाई प्रभावकारी बनाउन सबै दलका सांसदहरूसँग संवादलाई तीव्र बनाएका छन्। सिंहदरबारमा मन्त्रीहरूसँग छलफल गरिसकेका उनले अहिले प्रदेशगत रूपमा सांसदहरूसँग छुट्टाछुट्टै छलफल अघि बढाएका छन्।
रास्वपाको यो नयाँ अभ्यासले सांसदलाई नीति निर्माणसँगै कार्यान्वयनमा पनि प्रत्यक्ष जोड्ने प्रयास गरेको देखिन्छ। यदि सफल भयो भने यसले शासन प्रणालीलाई थप उत्तरदायी र प्रभावकारी बनाउन सक्ने छ।

