काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरु हुँदैछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसपटक परीक्षा सकिएको ३ दिनभित्रै उत्तरपुस्तिका परीक्षण गर्ने र एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाका अनुसार परीक्षाफल छिटो सार्वजनिक गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना लागू गर्न लागिएको हो ।
उनले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइँदै रहेको जानकारी दिए । ‘परीक्षा केन्द्रहरूमै परीक्षण गर्ने तयारी छ, जसले नतिजा प्रकाशनलाई तीव्र बनाउनेछ,’ सापकोटाले भने ।
विगतमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्दा नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको थियो । यसपटक सो प्रक्रिया छोट्याएर समयमै नतिजा ल्याउने लक्ष्य राखिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै नतिजा निकाल्ने गरी कार्यतालिका तयार पार्दै सर्कुलर गर्ने तयारी गरेको छ । परीक्षणपछि जिल्लाबाट प्राप्ताङ्क बोर्डमा पठाइनेछ र त्यसपछि इन्ट्री तथा रूजु गरी नतिजा प्रकाशित गरिनेछ ।
बोर्डका अनुसार वैशाख मसान्तभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको छ । यस वर्ष एसइईका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएका छन् भने ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्

