काठमाडौँ । बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएको छ । बुधबार बिहान ८ः२६ मा काठमाडौँबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको उडान संख्या ८५१ अवतरण गर्न नसकेर काठमाडौँ फर्किएको हो ।
उक्त जहाजमा राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाल, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल सवार थिए ।
अनुगमन गर्न हिडेको योजना आयोगको टोली जहाज अवतरण गर्न नसकेर भैरहवा विमानस्थलबाट फर्किएको छ । आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको ७ः५५ को जहाज मार्फत भैरहवा विमानस्थल पुगेको थियो ।
आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो । जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवावासी समेत चलेको थियो ।
जहाज फर्किएपछि आयोग सदस्य डा. फुयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर भएका छन् ।
मौसम प्रतिकूलताका कारण काठमाडौँ फर्किएको जहाजलाई पुनः भैरहवा फकाईएको छ । उक्त जहाज बुधबार दिउँसो १२ बजेर २९ मिटेनमा काठमाडौंबाट भैरहवा उडान भरि १३:0३ मा अवतरण गरेको बुद्ध एयरले जनाएको छ ।

