काठमाडौँ । बिचौलीय दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा बिहीबार दिउँसो पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार व्यवसायी भट्टलाई पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ।
भट्टको बयान एक चरण सकिएको भए पनि थप बयान गराउन बाँकी रहेको विभागले जनाएको छ। उनले बिमा ऐन, २०७९ को दफा १४० को कसुर समेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेको आरोप छ।

