काठमाडौँ । फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्¥याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएको हो ।
उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले दिएको जानकारी अनुसार क्याफेको खाद्य पदार्थ डस्टबिन संगै थियो ।
‘मानिसको जीवनसंग जोडिएको खानेकुरा फोहोर मैला भएकै ठाउँमा राखेर गम्भीर लापरबाही गरेको पाइएपछी संयुक्त बजार अनुगमन टोलीले जरिवाना गरेको हो,’ थापाले भने, ‘यस्तै २५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँमा बेचेर ठगी गरेको भेटियो ।’
बजार अनुगमन टोलीले मानभवनमा रहेको जोइन्ट बार एन्ड ग्रीललाई पनि १० हजार जरिवाना तिराएको छ ।
३५ रुपैयाँको बोलतको प्रोसेस पिउने पानीलाई सयमा बेचेको भेटिएपछी कारबाही गरेको अनुगमन अधिकृत थापाले बताए ।
‘जोइन्ट ग्रीलले आन्तरिक राजस्वको अन्तशुल्क प्रमाणपत्र नलिइ अल्कोहल जन्य पेय पदार्थ विक्रीवितरण गरेको भेटियो,’ थापाले थपे, ‘उसको रक्सी पसल सिल गरिएको छ ।’
दर्ता नगरेसम्म अब विक्रीवितरण पुर्णरुपमा रोक लगाइएको उनले बताए । अनुगमन टोलीले सोमबारदेखी अनुगमन थालेको हो । अब दशैसम्म यो जारी रहनेछ ।

