काठमाडौँ । युट्युबमार्फत प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युट्युबर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल रहेका छन्। उनलाई साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो। उक्त सामग्रीमा उच्च पदस्थ राजनीतिक व्यक्तिहरूमाथि अश्लील, अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति प्रयोग गरिएको आरोप लगाइएको छ।
पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।
प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म प्रयोग गर्दा कानुनी मर्यादा र जिम्मेवारी पालना गर्न सबैलाई आग्रह गरेको छ। डिजिटल माध्यममा गलत सामग्री प्रसारण गर्दा कानुनी कारबाहीको दायरामा आउनुपर्ने भएकाले सतर्क रहन समेत चेतावनी दिइएको छ।

