काठमाडौँ । नेपालको वित्तीय सेवा कम्पनी फोकसवान पेमेन्ट सोल्युसन्सले मोको युनिफाइड क्यूआर कोडमा आलीपे+ को एकीकरणको घोषणा गरेको छ ।
यस एकीकरण हिमालयन बैंकको महत्वपूर्ण साझेदारीमा सम्पन्न भएको हो । जसले नेपालको व्यापारिक क्षेत्रमा अन्तर्राष्ट्रिय ग्राहकहरूबाट सहजरूपमा भुक्तानी लिन सकिनेछ । एन्ट ग्रुपसँगको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पु¥याउनमा एक महत्वपूर्ण कदम अघि बढाएको छ ।
आलीपेले दक्षिणपूर्वी एसियालगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूलाई सहजरूपमा मोबाइल भुक्तानीको सुविधा प्रदान गर्छ । जसमा अलिपे (चीन), अलिपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माइपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नावर पेट पे (दक्षिण कोरिया), र मनी (थाइल्याण्ड) जस्ता महत्वपूर्ण भुक्तानी एपहरू समावेश छन् । साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुने जनाईएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विनोदराज आचार्यले दुईबीचको यो साझेदारीले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अर्को महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए । यस सेवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि सहज र सुरक्षि भुक्तानीको वातावरण बनाउने उनको भनाइ छ । जसले गर्दा लेनदेनहरू अझ सजिलो, सुविधाजनक र सुरक्षित हुने उनले अपेक्षा लिएका छन्। नियामकको रूपमा नेपाल राष्ट्र बैंकले उपभोक्ता सेवालाई सधैं प्राथमिकता दिँदै चुनौतीहरूको समाधान गर्न सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
आलीपेको यस विश्वव्यापी पहुँचले मोकोको युनिफाइड क्यूआर कोडमा यो एकीकरणलाई थप प्रभावकारी बनाउनेछ । यसले अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय व्यवसायीहरूलाई उनीहरूले रुचाएका भुक्तानी विधिहरू सहजरूपमा प्रयोग गरी कारोबार गर्न सक्षम बनाउनेछ ।

