२०८३, आश्विन २० गते

images
  • समाचार
  • बालेन नेतृत्व र युवा उदयप्रति ज्ञानेन्द्रको...

बालेन नेतृत्व र युवा उदयप्रति ज्ञानेन्द्रको समर्थन

बालेन नेतृत्व र युवा उदयप्रति ज्ञानेन्द्रको समर्थन

सीएनएन खबर
सोमवार, चैत्र ३० २०८२०४:४४
सीएनएन खबर
सोमवार, चैत्र ३० २०८२०४:४४
  • images

    काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति आक्रामक टिप्पणी गर्दै आएका उनी यसपटक भने नयाँ पुस्ताको उदय र बालेन शाह नेतृत्वप्रति नरम र आशावादी देखिएका छन्।

    नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीति र शासन व्यवस्थामा युवाहरूको सक्रिय सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे। “पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

    यसअघि राजनीतिक परिवर्तनहरू सतही मात्रै भएको र दलीय खिचातानीका कारण देश प्रयोगशालाजस्तो बनेको टिप्पणी गर्दै आएका उनले अहिलेको सन्दर्भमा भने युवा नेतृत्वले राष्ट्रिय समृद्धिमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्। उनले वर्तमान सरकारलाई आर्थिक अवस्था सुधार, छिमेकी तथा मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध विस्तार र आन्तरिक सुरक्षा सुदृढीकरणमा ध्यान दिन सुझाव दिएका छन्।

    पूर्वराजाले परनिर्भरता घटाउँदै देशलाई आत्मनिर्भर र स्वाधीन बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आग्रह गरेका छन्। साथै, उनले आपसी द्वेष र प्रतिशोधको राजनीति त्यागेर जनचाहनाअनुसार अघि बढ्न राजनीतिक नेतृत्वलाई सन्देश दिएका छन्।

    युवा पुस्ताप्रति आशावादी देखिएका उनले सबै नेपालीले न्याय, शान्ति र समृद्धि अनुभव गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै देशको मौलिक पहिचान जोगाउनु नै अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend