काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनको तयारीलाई तीव्रता दिँदै वडा र पालिका तहका अधिवेशन पुनः सुरु गरेको छ । २०८० मंसिरबाट सुरु भएको अधिवेशन प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको थियो, जसलाई आज वैशाख २ गतेदेखि पुनः अघि बढाइएको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संगठन निर्माण कार्यलाई गति दिन देशभरका वडा र पालिकामा अधिवेशन सञ्चालन गरिएको छ । संगठन विस्तार हुन बाँकी रहेका स्थानहरूमा तदर्थ समिति गठन गरिने योजना पनि पार्टीले अघि सारेको छ ।
उनका अनुसार वैशाख महिनाभर वडा तथा पालिका तहमा तदर्थ समिति र वडा परिषद् गठन गर्ने लक्ष्य लिइएको छ । हालसम्म ४५२ वटा वडा र ६२ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने अझै ७५३ पालिकामध्ये २८९ पालिका र ७ हजार ६४३ वडामध्ये ४ हजार ४८७ वडामा संगठन निर्माण हुन बाँकी रहेको छ ।
पार्टीले तय गरेको कार्यतालिकाअनुसार वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका तथा जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी रहेको छ ।
गत कात्तिकमा चितवनमा सम्पन्न विस्तारित बैठकले निर्वाचनको ६ महिनाभित्र पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि आन्तरिक तयारीका आधारमा असोजमा महाधिवेशन गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।
महाधिवेशनको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन । केही दिनमै बस्ने केन्द्रीय समिति बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ ।

