काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कामाथि भइरहेको अनुसन्धानसम्बन्धी फाइल सर्वोच्च अदालतले झिकाउन आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार राजस्व अनुसन्धान विभागलाई बिहीबार दिउँसो १२ बजेसम्म लिखित जवाफसहित सम्पूर्ण अनुसन्धान फाइल पेश गर्न निर्देशन दिएको छ । साथै, जिल्ला अदालत ललितपुरलाई समेत खड्कालाई थुनामा राख्नुको कारणसहितको विवरण पेश गर्न आदेश दिइएको छ ।
अदालतले म्याद थपका क्रममा राजस्व अनुसन्धान विभागले पेश गरेका कागजात, अदालतले दिएको अनुमति तथा सोसँग सम्बन्धित सम्पूर्ण मिसिलसमेत बुझाउन भनेको छ । यदि म्याद थप गर्दा थप पर्चा तयार गरिएको भए सो पनि संलग्न गरी तोकिएको समयभित्र पेश गर्न आदेशमा उल्लेख गरिएको छ ।
खड्कालाई हाल राखिएको अवस्थामै राख्न सर्वोच्चले अर्को आदेश जारी गर्दै रिटमाथिको थप सुनुवाइ बिहीबारका लागि तोकेको छ ।
खड्कामाथि सुरुमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । उक्त विभागले प्रतिवेदनसहित फाइल आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो भने त्यहाँबाट पुनः राजस्व अनुसन्धान विभागमा फाइल पुगेको हो ।
यसअघि जिल्ला अदालत ललितपुरले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । गत चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको थियो र हाल उनी सीआईबीकै हिरासतमा रहेका छन् ।

