काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबीच नेता डा. शेखर कोइराला नेतृत्वको समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टी सुदृढीकरणमा केन्द्रित हुने निर्णय गरेको छ। आइतबार बिहान विशालनगरस्थित कोइरालाको सचिवालयमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिएको छ। नेता जीवन परियारका अनुसार वर्तमान परिस्थितिमा पार्टीको बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण सबैको साझा जिम्मेवारी भएको निष्कर्ष बैठकले निकालेको छ।
उनले पार्टीभित्र एकता कायम राख्ने जिम्मेवारी केन्द्रीय कार्यसमिति र सभापतिमा अझ बढी रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्न आह्वान गरिएको बताए। परियारले कांग्रेसले स्थापनाकालदेखि नै स्वतन्त्र न्यायपालिकाप्रति विश्वास र सम्मान राख्दै आएको स्मरण गराउँदै अहिलेको अवस्थामा पनि त्यसैलाई निरन्तरता दिने धारणा व्यक्त गरे।
तर, सर्वोच्च अदालतको फैसलापछि कोइराला समूहले देउवा पक्षीय छलफलहरूमा सहभागिता जनाउन छाडेको छ। शनिबार पूर्णबहादुर खड्का निवासमा भएको बैठकमा अनुपस्थित रहेको उक्त समूह आइतबार धुम्बाराहीमा जारी देउवा पक्षीय छलफलमा पनि सहभागी भएन।
यसअघि नियमित र विशेष महाधिवेशनसम्बन्धी विवादमा देउवा पक्षसँग उभिएको कोइराला समूह अहिले भने स्वतन्त्र धारणा बनाउँदै ‘अलग लाइन’मा देखिएको छ। बैठकमा निवर्तमान उपसभापति, पूर्वमहामन्त्री, सहमहामन्त्री तथा विभिन्न शीर्ष नेताहरूको सहभागिता रहेको थियो। कांग्रेसभित्रको यो पछिल्लो घटनाक्रमले पार्टीभित्र शक्ति सन्तुलन र आगामी रणनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

