काठमाडौँ । अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसंग नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ। उक्त अभियानले विदेशमा श्रम गरिरहेका नेपालीहरूले आफ्नो परिवार र देशका लागि पुर्याएको योगदानलाई उजागर गर्दै उनीहरूको भूमिकालाई उच्च सम्मान दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत सामसंगले “Samsung Remit मा Benefit” नामक विशेष पहल पनि सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई विभिन्न लाभ र सहजता प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीका अनुसार उक्त अफर आगामी अप्रिल २४ देखि लागू हुनेछ।
नेपालको अर्थतन्त्रमा रेमिटेन्सलाई प्रमुख आधारका रूपमा मान्दै सामसंगले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका महत्वपूर्ण स्तम्भका रूपमा प्रस्तुत गरेको छ। साथै, सामसंगका एआई–सक्षम डिभाइसहरूले परिवारबीचको सम्बन्धलाई अझ सशक्त बनाउने, दैनिक जीवनलाई स्मार्ट, कनेक्टेड र सहज बनाउने दाबी गरिएको छ।
यस पहलमा सामसंगले IME Remit, Ncell, Khalti by IME र Hulas Fin Serve Ltd. सँग सहकार्य गरेको छ। सहकार्यअन्तर्गत सामसंगका उत्पादन खरिद गर्दा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सहज EMI सुविधा, तथा खल्तीमार्फत क्यासब्याक जस्ता लाभ उपलब्ध हुनेछन्। यो अफर विदेशबाट नेपालमा रकम पठाउने ग्राहकहरूका लागि मात्र लक्षित गरिएको कम्पनीले स्पष्ट पारेको छ।
सामसंगले आधिकारिक उत्पादन प्रयोगमार्फत दीर्घकालीन विश्वसनीयता, वारेन्टी र सहज इकोसिस्टम अनुभव सुनिश्चित गर्न सकिने भन्दै उपभोक्तालाई आधिकारिक च्यानलबाट खरिद गर्न आग्रहसमेत गरेको छ।

