काठमाडौं । नबिल बैंकले ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम मापदण्ड सहजै पार गरेको छ। बैंकले फाल्गुन २०८२ सम्म ऊर्जा क्षेत्रमा ४१ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दै नियामकीय लक्ष्यभन्दा अघि रहेको देखिएको छ।
पौष २०८२ सम्म बैंकको कुल कर्जा तथा अग्रिम ४५९ करोड ९ लाख रुपैयाँ पुगेको अवस्थामा नेपाल राष्ट्र बैंकले आगामी असार २०८३ सम्म ऊर्जा क्षेत्रमा न्यूनतम ८ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त मापदण्डअनुसार करिब ३६ अर्ब ७२ करोड रुपैयाँ आवश्यक पर्नेमा नबिल बैंकले (जलविद्युत तथा सौर्य परियोजना कर्जाबाट मात्रै) ८.९३ प्रतिशत अर्थात् करिब ४१ अर्ब रुपैयाँ लगानी गर्दै लक्ष्यभन्दा अगाडि पुगेको हो।
यससँगै बैंकले करिब ४ अर्ब २७ करोड रुपैयाँ बराबरको अतिरिक्त लगानी कायम गरेको छ, जसले ऊर्जा क्षेत्रमा नबिलको सशक्त उपस्थितिलाई पुष्टि गर्दछ।
नबिल बैंकले परियोजना कर्जामा मात्र सीमित नरही हरित ऊर्जासम्बन्धी अन्य क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। कमर्सियल इलेक्ट्रिक भेहिकलमा ६ अर्ब ५० करोड रुपैयाँ र ऊर्जा बन्डमा १ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्दै बैंकले दिगो ऊर्जा प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ।
यी सबै क्षेत्र समेट्दा बैंकको कुल ऊर्जा सम्बन्धी लगानी ४९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन कुल कर्जा पोर्टफोलियोको १०.७२ प्रतिशत हो।
हाल नबिल बैंकको ऊर्जा पोर्टफोलियोअन्तर्गत ६३ वटा नवीकरणीय ऊर्जा परियोजना रहेका छन्, जसको कुल जडित क्षमता ३,०८५.७२ मेगावाट पुगेको छ। जलविद्युत्मा ५६ वटा परियोजना अन्तर्गत २,८९५.७२ मेगावाट उत्पादन क्षमता रहेको जसको लगानी ४० अर्ब ३९ करोड रुपैयाँ रहेको छ । साथै सौर्य ऊर्जामा ७ परियोजना अन्र्तगत १९० मेगावाट उत्पादन क्षमता रहेकोमा ६१ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । नबिल बैंकले जलविद्युत् क्षेत्रमा बलियो उपस्थिति कायम राख्दै बैंकले सौर्य ऊर्जामा समेत विस्तार गर्दै लगेको देखिन्छ।
ऊर्जा क्षेत्रमा नबिल बैंकको बढ्दो लगानीले नेपालमा नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा आत्मनिर्भरता र हरित अर्थतन्त्र निर्माणमा सकारात्मक संकेत दिएको छ। नबिल बैंकको यस्तो सक्रियता देशको ऊर्जा सुरक्षालाई बलियो बनाउनेतर्फ महत्वपूर्ण मानिएको छ।
नबिल बैंकले नेपाल राष्ट्र बैंकको मापदण्ड पूरा गर्नुका साथै ऊर्जा क्षेत्रमा आक्रामक रूपमा लगानी विस्तार गर्दै अग्रणी बैंकका रूपमा आफूलाई स्थापित गरेको छ। जलविद्युत्, सौर्य ऊर्जा, विद्युतीय सवारी र ऊर्जा बन्डमार्फत दिगो विकासमा बैंकको योगदान उल्लेखनीय देखिएको छ।

