काठमाडौं । महालक्ष्मी विकास बैंक ले विभिन्न क्षेत्र समेट्दै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बहुआयामिक कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार सुधार तथा दिगो विकासका क्षेत्रमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
यसैक्रममा लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत पृथ्वी दिवसको अवसरमा सुदूरपश्चिमको खप्तड छेडेदह गाउँपालिका–१ काँडामा २ हजार कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।
हरियाली क्षेत्र विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोत उपयोग तथा रोजगारी सिर्जनामार्फत जलवायु जोखिमयुक्त क्षेत्रमा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।
त्यसैगरी क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम र उपचारबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमका लागि बैंकले आर्थिक सहयोग गरेको छ। उक्त कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पताल को क्यान्सर वार्डलाई हस्तान्तरण गरिएको छ।
Global Money Week 2026 को अवसर पारेर बाँकेको नेपालगञ्जस्थित युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ।
युवामाझ जिम्मेवार वित्तीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई पनि बैंकले आर्थिक सहयोग गरेको छ।
गत चैत २ देखि ८ गतेसम्म मनाइएको ग्लोबल मनी विकका क्रममा बैंकका देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको उल्लेख गरिएको छ।
‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात् गर्दै बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

