२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

सीएनएन खबर
बुधवार, बैशाख १६ २०८३११:०३
सीएनएन खबर
बुधवार, बैशाख १६ २०८३११:०३
  • images

    काठमाडौँ । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल ९हान० ले नयाँ दिल्लीमा भारतका लागि नेपाली राजदूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो । वैशाख १५ र १६ मा आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    यस कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । कार्यक्रममा २१ नेपाली प्रतिष्ठित कम्पनीहरू र ४५ वटा भारतीय वेडिङ प्लानरहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले जानकारी दिएका छन् । वरिष्ठ अधिकृत रेग्मीका अनुसार नेपाली प्रतिनिधिहरुले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट तथा सेवाहरूबारे प्रस्तुती र प्रचारप्रसार गरेका छन् । त् बी–टु–बी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफलमार्फत नेपाल–भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनले जनाएका छन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दिपक राज जोशीले वैवाहिक पर्यटन नेपालको लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै भने, “नेपालमा वैवाहिक पर्यटनको अपार सम्भावना छ, जहाँ विलासी रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन् ।” पर्यटन बोर्डका यस किसिमका प्रयासहरूले पर्यटक संख्या वृद्धि मात्र होइन, उच्च मूल्य ९हाइ–भ्यालु० पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनुका साथै समग्र अर्थतन्त्र र अन्य सहायक क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने सीईओ जोशीको विश्‍वास छ ।

    कार्यक्रममा होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेशन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरेका छन् । त्यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा। सुरेन्द्र थापाले नेपाल–भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतम र वरिष्ठ अधिकृत रोविन रेग्मीको सहभागिता रहेको थियो । जसमा बोर्डको तर्फबाट निर्देशक गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र उल्लेख गर्दै पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्वबारे जानकारी गराएका छन् । उनले नेपालले भारतजस्तो सांस्कृतिक रूपमा समृद्ध बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य सिर्जना गर्न सक्ने क्षमता रहेकोसमेत उल्लेख गरेका छन् । “हाम्रा आकर्षक गन्तव्यहरू, आतिथ्य सत्कार र जीवन्त संस्कृतिसहित हामी भारतीय वेडिङ प्लानर तथा उनीहरूका ग्राहकहरूलाई नेपालको अद्भुत अनुभव दिलाउन तयार छौं,” उनले भने ।

    नेपाल पर्यटन बोर्डको पछिल्ला तथ्यांक हेर्ने हो भने पनि भारत नेपालको प्रमुख पर्यटन स्रोत बजारको रूपमा रहेको छ । सन् २०२५ को पर्यटक आगमनको तथ्यांक अनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५।२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४३८ भारतीय रहेका छन् । सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५१ पर्यटक नेपाल भित्रिएका थिए ।

    भारतीय बजारलाई लक्षित गरी वैवाहिक पर्यटन प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक भित्र्याउने तथा वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउने विश्वास गरिएको बोर्डका वरिष्ठ अधिकृत रेग्मीको विश्‍वास छ । कार्यक्रमले नेपाललाई केवल पर्यटन गन्तव्य मात्र नभई सांस्कृतिक अनुभव, विलासी सेवा र अविस्मरणीय वैवाहिक अनुभव प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend