काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। महासंघको ६०औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
अध्यक्ष ढकालले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै यसलाई मुलुकको वास्तविक आर्थिक इन्जिनका रूपमा व्याख्या गरे। पूर्वाधार निर्माणदेखि सेवा प्रवाहसम्म निजी क्षेत्रको सक्रिय सहभागिता रहेको भन्दै उनले निजी क्षेत्रबिना समृद्धिको कल्पना गर्न नसकिने बताए।
उनका अनुसार आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ सँग सहकार्य गर्दै निजी क्षेत्रका मुद्दाहरूलाई सामूहिक रूपमा अगाडि बढाएको छ। उनले कालोबजारी ऐनलगायत पुराना कानुन सुधार तथा ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना (पीएसपीपी)’ पारित हुनु प्रमुख उपलब्धि भएको बताए।
उक्त योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा निजी क्षेत्र अझ सशक्त रूपमा अघि बढ्ने विश्वास उनले व्यक्त गरे। साथै, सरकार र निजी क्षेत्रबीच ‘पक्ष–प्रतिपक्ष’ जस्तो सम्बन्ध हुन नहुने भन्दै सहकार्यको वातावरण आवश्यक रहेको उनको भनाइ छ।
महासंघको आगामी नेतृत्व चयनबारे बोल्दै अध्यक्ष ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरे पनि सम्भव नभएको बताए। उनले निर्वाचनपछि सबै पक्ष एकजुट भएर निजी क्षेत्रका अधुरा काम पूरा गर्नुपर्नेमा जोड दिए।

