काठमाडौँ । सरकारले विभिन्न बीमा कम्पनीसँग सम्बन्धित लगानी तथा सेयर खरिद विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको छ।
अर्थ मन्त्रालयअन्तर्गत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आवश्यक विवरण पेश गर्न आग्रह गरेको हो।
विभागका अनुसार अध्ययन प्रयोजनका लागि बीमा नेपालसँग सम्बद्ध इन्स्योरेन्स कम्पनीहरू—जस्तै गुराँस लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स, स्टार लाइफ लगायतका कम्पनीमा संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूको लगानी विवरण आवश्यक परेको जनाइएको छ।
सूचनामा उल्लेख गरिएअनुसार कम्पनी स्थापना अनुमति लिँदा संस्थापक सेयरधनीहरूले बुझाएको पुँजीबाहेक थप रूपमा प्रिमियम वा अन्य शीर्षकमा जम्मा गरिएको रकमको स्रोत, रकमको परिमाण, सम्बन्धित बैंक खाता, रकम जम्मा गरिएको मिति र संलग्न व्यक्तिरसंस्थाको स्पष्ट विवरण उपलब्ध गराउन भनिएको छ।
यस्ता विवरण फरक नपर्ने गरी प्रमाणसहित १५ दिनभित्र विभागमा पेश गर्न आग्रह गरिएको छ। विभागले अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्न सम्बन्धित सबै पक्षलाई अनुरोधसमेत गरेको छ।
सरकारले पछिल्लो समय वित्तीय पारदर्शिता र गैरकानुनी आर्थिक गतिविधि नियन्त्रणलाई कडाइ गर्दै यस्तो कदम चालेको बताइएको छ।

