काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको थियो ।
आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ ।
त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउन सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

