काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका अत्यन्त जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। शुक्रबार वैशाख १९ गते बल्खु र वंशीघाट क्षेत्रमा विशेष अभियान सञ्चालन गर्दै ६८६ वटा संरचना हटाउने कार्य अघि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा विभिन्न सम्बन्धित निकायहरू सहभागी भई सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत बल्खु क्षेत्रमा ४८६ टहरा र वंशीघाट क्षेत्रमा २०० संरचनामा डोजर प्रयोग गरी खाली गराउने काम सुरु गरिएको छ।
सरकारले बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणलाई ध्यानमा राख्दै यस कदमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। जोखिमपूर्ण क्षेत्र खाली गराएर नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य रहेको स्पष्ट पारिएको छ।
सरकारका अनुसार आगामी चरणमा शङ्खमूललगायत माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रका बस्तीहरूमा पनि यस्तै अभियान निरन्तर अघि बढाइनेछ।
यद्यपि, बाँकी क्षेत्रमा रहेका सुकुम्बासीहरूको हकमा भने तत्काल हटाउनेभन्दा पहिला उनीहरूको वास्तविक पहिचान गरी सुरक्षित व्यवस्थापनको ठोस योजना तयार गरिने जनाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सुकुम्बासीका लागि सुरक्षित आवास, स्वास्थ्य र पोषणको व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ।
यसैबीच, देशभर सार्वजनिक जग्गा खाली गर्ने विषयमा फैलिएको त्रासलाई सम्बोधन गर्दै गृह मन्त्रालयले स्पष्ट पारेको छ कि बिना तयारी र पूर्वसूचना कुनै पनि अतिक्रमण हटाउने कार्य अगाडि बढाइने छैन। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई स्थानीय तहको योजना र पूर्वसूचनाका आधारमा मात्र यस्तो अभियान सञ्चालन गर्न परिपत्र गरेको जनाएको छ।
स्थानीय तहको माग तथा स्पष्ट कार्ययोजनाको आधारमा मात्र सुरक्षा प्रबन्ध मिलाइने भएकाले नागरिकलाई अनावश्यक त्रास नलिन आग्रह गरिएको छ।

