२०८३, आश्विन १९ गते

images
  • समाचार
  • डेंगी नियन्त्रणमा सक्रिय बन्न ललितपुर महानगरको...

डेंगी नियन्त्रणमा सक्रिय बन्न ललितपुर महानगरको आग्रह, हरेक शुक्रबार ‘खोज र नष्ट’ अभियान चलाइने

डेंगी नियन्त्रणमा सक्रिय बन्न ललितपुर महानगरको आग्रह, हरेक शुक्रबार ‘खोज र नष्ट’ अभियान चलाइने

शुक्रवार, जेठ १ २०८३०४:५०
शुक्रवार, जेठ १ २०८३०४:५०
  • images

    काठमाडौं । ललितपुर महानगरपालिकाले डेंगी रोगको संक्रमण तीव्र बन्दै गएको भन्दै महानगर क्षेत्रभित्र व्यापक सचेतना र नियन्त्रण अभियान सञ्चालन गर्ने जनाएको छ । महानगरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डेंगी फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै सरकारी, गैरसरकारी, निजी कार्यालय, शैक्षिक संस्था तथा नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    महानगरका अनुसार वर्षायामको सुरुवातसँगै देशका विभिन्न जिल्लामा डेंगी संक्रमण बढ्दै गएको छ । ललितपुर महानगर क्षेत्रमा समेत संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि रोकथाम र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।

    महानगरले घर वरपर पानी जम्न नदिन, टायर, टिन, प्लास्टिकका भाँडा तथा पानी जम्ने सामग्री खुला ठाउँमा नराख्न, हप्तामा एकपटक घर तथा कार्यालय परिसर सफा गर्न र पानी ट्यांकी तथा गमलाहरू नियमित सफा गर्न आग्रह गरेको छ । त्यस्तै लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्न, पूरा बाहुला भएका कपडा लगाउन तथा लामखुट्टे भगाउने उपाय अपनाउन पनि अनुरोध गरिएको छ ।

    डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न महानगरले सुझाव दिएको छ । विशेषगरी उच्च ज्वरो आउने, टाउको तथा आँखाको पछाडि दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिएमा परीक्षण गराउन आग्रह गरिएको हो ।

    महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फोहोर जथाभावी फाल्ने कार्य नियन्त्रण गर्न थप कडाइ गर्ने जनाएको छ । निरीक्षणका क्रममा पिकनिक स्थल, धार्मिक स्थल, खेलमैदान तथा शैक्षिक संस्थामा पानी जम्ने गरी फालिएका प्लास्टिक कप तथा सामग्री भेटिएकाले त्यसले लामखुट्टेको वृद्धि हुने र डेंगी फैलन सहयोग पुगेको महानगरको भनाइ छ ।

    त्यसैगरी महानगरले प्रत्येक शुक्रबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म ‘डेंगीको बासस्थान खोजी तथा नष्ट अभियान’ सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, निजी कार्यालय, शैक्षिक संस्था तथा नागरिकलाई अपिल गरेको छ ।

    ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा डेंगी नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend