काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।
सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। पार्टीकी सचिव पद्मा अर्याल ले बैठकपछि पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको जानकारी दिइन्।
यससँगै एमाले केन्द्रीय सचिवालयले करिब ११ महिनाअघि गरेको निर्णय उल्टाएको छ। गत साउन ६ गते बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
पूर्वराष्ट्रपति भण्डारी लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनको पुनः सक्रिय राजनीतिक भूमिकाबारे विभिन्न तहमा चर्चा हुँदै आएको थियो।

