काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनहरूको सुनुवाइ स्थगित भएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएपछि बुधबार बस्दै आएको संवैधानिक इजलास नबसेपछि आजका लागि तय गरिएको सुनुवाइ रोकिएको हो ।
यसअघि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको कार्यकालमा संवैधानिक इजलास हरेक सोमबार र बुधबार बस्दै आएको थियो । तर नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि बुधबारका लागि तय गरिएको इजलास नै नबसेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी २० वटा रिट ‘स्थगित सूची’मा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार संवैधानिक इजलास गठन नभएकाले सुनुवाइ हुन नसकेको हो । उक्त रिटहरूको अर्को पेसी कहिले तोकिने भन्नेबारे भने हालसम्म जानकारी सार्वजनिक गरिएको छैन ।

