२०८३, आश्विन १९ गते

images
  • समाचार
  • विश्वकप २०२६ : भंग हुनसक्ने ७...

विश्वकप २०२६ : भंग हुनसक्ने ७ ठूला कीर्तिमान,विश्वकप आउन १७ दिन बाँकी

विश्वकप २०२६ : भंग हुनसक्ने ७ ठूला कीर्तिमान,विश्वकप आउन १७ दिन बाँकी

सोमवार, जेठ ११ २०८३०१:५७
सोमवार, जेठ ११ २०८३०१:५७
  • images

    काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकपको सुरु हुन अब १७ दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यसपटकको विश्वकपलाई लिएर विश्वभर उत्साह चरममा पुगेको छ । सहभागी राष्ट्रहरू अन्तिम टोली घोषणा गर्ने तयारीमा छन् भने समर्थकहरू आफ्ना मनपर्ने खेलाडी र टोलीको प्रदर्शन हेर्न आतुर छन् ।

    विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, यो फुटबल इतिहास लेखिने रंगमञ्च पनि हो । हरेक संस्करणमा नयाँ कीर्तिमान बन्छन्, पुराना कीर्तिमान भंग हुन्छन् र केही खेलाडी सधैँका लागि अमर बन्छन् । यसपटक पनि विश्व फुटबलका केही सुपरस्टार खेलाडीहरू ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाउने दौडमा छन् ।

    सबैभन्दा धेरै चर्चा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे लाई लिएर भइरहेको छ । सन् २०१८ मा विश्वकप जितिसकेका र सन् २०२२ मा सर्वाधिक गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’ जितेका एम्बाप्पे अहिले नै विश्वकपमा १२ गोल गरिसकेका छन् । जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमान अब गम्भीर दबाबमा परेको छ । केवल पाँच गोल थप्न सके एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सक्छन् ।

    यसैगरी अर्जेन्टिनाका महान खेलाडीलियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्न सक्ने सम्भावना छ । दुवैले हालसम्म पाँच–पाँच विश्वकप खेलिसकेका छन् । यदि आगामी विश्वकपमा मैदान उत्रिए भने उनीहरू ६ संस्करण विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन् ।

    मेस्सीका लागि अर्को ठूलो अवसर पनि छ । अर्जेन्टिना फेरि फाइनलसम्म पुगेमा उनले विश्वकपमा सबैभन्दा धेरै फाइनल खेल्ने कीर्तिमान थप मजबुत बनाउन सक्छन् । साथै विश्वकपमा सर्वाधिक जित निकाल्ने खेलाडीको सूचीमा पनि मेस्सी शीर्ष स्थानमा छन् र यो कीर्तिमान अझै अगाडि बढाउने अवसर उनीसँग हुनेछ ।

    राष्ट्रतर्फ हेर्दा ब्राजिल राष्ट्रिय फुटबल टोली माथि विशेष नजर रहनेछ । ब्राजिलले अहिलेसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । यदि यसपटक पनि ब्राजिल च्याम्पियन बन्यो भने फुटबल इतिहासमा ६ पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ ।

    त्यस्तै अर्जेन्टिना राष्ट्रिय फुटबल टिमले उपाधि रक्षा गर्न सके जर्मनी र इटालीको चार–चार विश्वकप उपाधिको बराबरी गर्नेछ । अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकप जित्दै लामो प्रतीक्षा अन्त्य गरेको थियो ।

    विश्वकपमा युवा खेलाडीहरूबाट पनि नयाँ इतिहास बन्ने अपेक्षा गरिएको छ । युरोप र दक्षिण अमेरिकाका केही किशोर खेलाडी अहिले नै विश्व फुटबलमा चर्चित बनिरहेका छन् । यदि उनीहरूले निर्णायक प्रदर्शन गरे भने सबैभन्दा कम उमेरमा गोल गर्ने, नकआउट चरणमा प्रभाव पार्ने वा उपाधि जित्ने खेलाडीको नयाँ इतिहास बन्न सक्छ ।

    यसपटकको विश्वकप धेरै हिसाबले विशेष मानिएको छ । पहिलो पटक ४८ टोली सहभागी हुनेछन् भने तीन देशमा फैलिएको विशाल आयोजनाले पनि नयाँ आयाम थपेको छ । त्यसैले सन् २०२६ को विश्वकप केवल फुटबल प्रतियोगिता मात्र नभई इतिहास, भावना र कीर्तिमानको महासंग्राम बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend