काठमाडौँ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका–६ बौद्धमा ‘बौद्ध महोत्सव २०८३’ आयोजना हुने भएको छ । “हाम्रो संस्कृति, हाम्रो उत्सव” भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सव जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा हुने आयोजकले जनाएको छ ।
वडा नं. ६ को आयोजनामा हुन लागेको महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता तथा सामुदायिक एकतालाई एउटै मञ्चमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा स्थानीयवासी, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला–हस्तकला, खाद्य स्टल तथा विभिन्न सांगीतिक प्रस्तुति रहनेछन् । कार्यक्रममा ‘द एक्स’, हरक्युलस बस्नेत, ‘द रेन्डर’, ‘द पासा रकर्स’, फुर्बा एन्ड द ब्यान्ड’ लगायतका कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताएका छन् । उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएकाले यसको पहिचान संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उद्देश्य हो ।
महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रकै साझा उत्सवका रूपमा मनाउन घर, पसल, टोल तथा समुदायस्तरसम्म प्रचार–प्रसार अभियान सञ्चालन गरिने भएको छ । सहभागीलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजागाजा तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।
कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा विशेष तयारी गरिएको आयोजकले जनाएको छ । उत्पला क्याफे क्षेत्र, सिद्धार्थ हल क्षेत्र तथा बौद्ध क्षेत्र आसपासका स्थानमा पार्किङको व्यवस्था मिलाइनेछ भने ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि सम्बन्धित निकाय, स्वयंसेवक तथा स्थानीय टोली परिचालन गरिनेछ ।
आयोजकका अनुसार महोत्सवमा देश–विदेशबाट आउने पर्यटकलाई विशेष स्वागत गरिनेछ । बौद्ध भ्रमणमा आउने विदेशी पर्यटकले नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय परिकार तथा सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न पाउने विश्वास गरिएको छ । यसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

