काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा नयाँ सिनेमा हल सञ्चालन गर्ने व्यवसायीलाई १० वर्षसम्म कर छुट दिने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चलचित्र उद्योगको विकास, लगानी प्रवर्द्धन र मनोरञ्जन क्षेत्रको विस्तारका लागि यस्तो व्यवस्था गरिएको बताएका हुन्।
सरकारका अनुसार काठमाडौं उपत्यकामा नयाँ स्थापना हुने सिनेमा हलहरूले निश्चित अवधिसम्म आयकरसहित सम्बन्धित करमा छुट पाउनेछन्। यसले निजी क्षेत्रलाई नयाँ सिनेमा हल निर्माण, आधुनिक मल्टिप्लेक्स विस्तार तथा चलचित्र प्रदर्शन पूर्वाधार सुधारमा लगानी गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले चलचित्र तथा मनोरञ्जन उद्योगलाई सांस्कृतिक अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। सरकारको यो नीतिले उपत्यकामा आधुनिक सिनेमा हलको संख्या बढ्ने र नेपाली चलचित्र क्षेत्रलाई थप व्यावसायिक बनाउने विश्वास गरिएको छ।

