२०८३, आश्विन २० गते

images
  • समाचार
  • ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनाइमा...

‘नेपालले पनि भारतको भूमि मिचेको’ भनाइमा राष्ट्रिय सभा अवरुद्ध, रेकर्डबाट नहटेसम्म आन्दोलन जारी राख्ने विपक्षी चेतावनी

‘नेपालले पनि भारतको भूमि मिचेको’ भनाइमा राष्ट्रिय सभा अवरुद्ध, रेकर्डबाट नहटेसम्म आन्दोलन जारी राख्ने विपक्षी चेतावनी

सोमवार, जेठ १८ २०८३०२:१०
सोमवार, जेठ १८ २०८३०२:१०
  • images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभामा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

    सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै बैठक सुरु हुनासाथ उभिएर विरोध गरेका हुन्। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको कारबाही अगाडि बढाउन खोज्दा प्रतिपक्षी सांसदहरूले अवरोध गरेका थिए।

    प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग राख्दै उक्त माग पूरा नभएसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले प्रधानमन्त्रीको भनाइले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र सीमासम्बन्धी आधिकारिक अडानमाथि प्रश्न उठाएको दाबी गरेका छन्।

    आइतबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै “भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले सीमा विवाद कूटनीतिक संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ। प्रमुख प्रतिपक्षी दलहरूले मात्रै होइन, केही पूर्वराजदूत, कूटनीतिज्ञ तथा राजनीतिक विश्लेषकहरूले समेत उक्त भनाइलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरेका छन्।

    यसैबीच, प्रधानमन्त्रीको भनाइलाई लिएर प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा राजनीतिक तनाव बढ्दै गएको छ। प्रतिपक्षी दलहरूले संसद्को रेकर्डबाट अभिव्यक्ति हटाउनुपर्ने मागलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् भने सत्ता पक्षले यस विषयमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण संसद्को नियमित कार्यसूचीसमेत प्रभावित हुने संकेत देखिएको छ। राष्ट्रिय सभा बैठक अवरुद्ध भएपछि सदनको आगामी कार्यसूची अन्योलमा परेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend