काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन्।
मंगलबार बसेको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भएकाले त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका छन्।
विरोधका बीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए। सांसदहरूले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउने खालको रहेको भन्दै संसद्को अभिलेखबाट हटाउन तथा औपचारिक रूपमा फिर्ता लिन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको भन्दै सीमा समस्यालाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म आफ्नो विरोध जारी रहने चेतावनी दिएका छन्। राष्ट्रिय सभा बैठकमा भने विपक्षी सांसदहरूको नाराबाजी र विरोधका बीच सदनको कार्यसूची प्रभावित भएको छ।

