काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकर सँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।
समाचार संस्था एएनआईका अनुसार नयाँ दिल्लीमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटमा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू पनि सहभागी थिए।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रास्वपा सभापति लामिछानेसँगको भेट फलदायी रहेको उल्लेख गरेका छन्। उनले दुई देशबीचको विकास सहकार्य, आपसी हित र जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको बताएका छन्।
पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले मंगलबार बिहान भारतीय जनता पार्टी ९भाजपा०का शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका थिए। त्यसलगत्तै विदेशमन्त्री जयशंकरसँग भएको भेटलाई नेपाल–भारत राजनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भेटवार्ताका क्रममा दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्ध, क्षेत्रीय सहकार्य, आपसी हितका विषय तथा दक्षिण एसियाली क्षेत्रको समसामयिक राजनीतिक अवस्थाबारे समेत विचार आदानप्रदान भएको बताइएको छ।

