काठमाडौं । आगामी विश्वकप फुटबलसँगै खेलको गति, निष्पक्षता र अनुशासनलाई थप मजबुत बनाउन नयाँ नियमहरू लागू हुने भएका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफा तथा अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपअघि नियमहरूमा व्यापक परिवर्तन गर्दै समय खेर फाल्ने, रेफ्रीमाथि दबाब सिर्जना गर्ने र विवादास्पद निर्णयलाई न्यून गर्ने प्रयास गरेको हो।
नयाँ नियमअनुसार अब मैदानमा झडप वा विवादको अवस्था सिर्जना हुँदा खेलाडीले आफ्नो मुख छोपेर संवाद गर्न पाउने छैनन्। यदि कुनै खेलाडीले विवादका क्रममा मुख छोपेको पाइएमा रेफ्रीले सिधै रातो कार्ड देखाउन सक्नेछन्। आईएफएबीका अनुसार यस्तो व्यवहारले भेदभावपूर्ण वा अपमानजनक टिप्पणी लुकाउने सम्भावना बढाउने भएकाले कडा कदम चालिएको हो।
त्यस्तै, रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा मैदान छाड्ने खेलाडी वा त्यसका लागि उक्साउने टोलीका पदाधिकारीलाई पनि रातो कार्ड देखाउन सकिनेछ। कुनै टोलीले खेल रोक्ने वा रद्द गराउने अवस्था सिर्जना गरेमा उक्त टोलीलाई पराजित घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।
विश्वकपसँगै भीएआर (VAR) को अधिकारक्षेत्र पनि विस्तार गरिएको छ। अब गलत रूपमा दिइएको कर्नर किकको निर्णय उल्टाउन सकिनेछ। साथै, गलत दोस्रो पहेँलो कार्ड, पहेँलो वा रातो कार्ड गलत खेलाडीलाई देखाइएको अवस्थामा समेत भीएआरले हस्तक्षेप गर्न पाउनेछ।
समय खेर फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न गोलकिपर, थ्रो–इन र खेलाडी परिवर्तनसम्बन्धी नयाँ समयसीमा लागू गरिएको छ। यदि गोलकिपरले जानाजान खेल सुरु गर्न ढिलाइ गरेमा रेफ्रीले पाँच सेकेन्डको काउन्टडाउन सुरु गर्नेछन्। समयसीमा सकिँदासम्म बल खेलमा नल्याइए विपक्षी टोलीलाई कर्नर किक प्रदान गरिनेछ।
थ्रो–इनमा पनि यही व्यवस्था लागू हुनेछ। खेलाडी परिवर्तनका क्रममा मैदान छाड्ने खेलाडीले १० सेकेन्डभित्र बाहिरिनुपर्नेछ। नियम पालना नभए प्रतिस्थापन खेलाडीलाई एक मिनेटसम्म मैदान प्रवेश गर्न रोक लगाउन सकिनेछ।
घाइते खेलाडीको उपचारसम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ। मैदानमै उपचार लिएका अधिकांश खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा एक मिनेट मैदानबाहिर बस्नुपर्नेछ। यद्यपि गोलकिपर घाइते भएको, टाउकोमा चोट लागेको वा खेलाडीहरू एकआपसमा ठोक्किएको अवस्थामा भने यो नियम लागू हुने छैन।
फिफाका अनुसार यी परिवर्तनहरूको मुख्य उद्देश्य खेललाई थप गतिशील, निष्पक्ष र दर्शकमैत्री बनाउनु हो। विश्वकपमा सहभागी ४८ राष्ट्रका प्रशिक्षक र प्राविधिक टोलीलाई नयाँ नियमबारे विशेष प्रशिक्षणसमेत दिइसकिएको छ।
भीएआरले अब यी अवस्थामा हस्तक्षेप गर्न सक्नेछ :
गलत रूपमा दिइएको कर्नर किकको निर्णय सच्याउन
गलत दोस्रो पहेँलो कार्डको समीक्षा गर्न
पहेँलो वा रातो कार्ड गलत खेलाडीलाई देखाइएको अवस्थामा निर्णय सच्याउन
पेनाल्टी क्षेत्रभित्र भएका गम्भीर फउल तथा ग्राभलिङ घटनाको समीक्षा गर्न
फ्रिकिक तथा कर्नरअघि भएका महत्वपूर्ण नियम उल्लंघनको मूल्यांकन गर्न
विश्वकपअघि ल्याइएका यी नयाँ नियमहरूले खेलको स्वरूपमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी समय खेर फाल्ने रणनीति अपनाउने टोलीहरू र खेलाडीहरूको व्यवहारमा अब कडा निगरानी रहनेछ।

