काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि कडा आलोचना गर्दै देशको पक्षमा बोल्ने सांसदहरूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन्।
पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको आरोप लगाए। प्रधानमन्त्रीको उक्त भनाइमा सभामुखले कुनै रुलिङ नगरेको तर त्यसको विरोध गर्ने सांसदहरूमाथि कारबाहीको तयारी गरिएको भन्दै उनले आपत्ति जनाए।
“देशद्रोही कुरा गर्ने प्रधानमन्त्रीलाई रोक्न नसक्ने, रुलिङ गर्न नसक्ने सभामुखले देशका पक्षमा बोल्ने सांसदलाई कारबाही गर्न खोज्दैछन्,” ओलीले भने, “गर्नुस् कारबाही, देशका पक्षमा बोल्ने जनप्रतिनिधिलाई के गर्न सक्नुहुन्छ गरेर देखाउनुस्।”
ओलीले प्रधानमन्त्रीले भारतजस्तो ठूलो छिमेकी देशको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहितविरुद्ध काम गरेको आरोप लगाए। उनले यस्ता विषयमा सरकारले तथ्य सार्वजनिक गर्नुपर्ने बताए।
कार्यक्रममा ओलीले आफूलाई राजनीतिक रूपमा कमजोर बनाउन विभिन्न प्रयास भइरहेको दाबी गर्दै आफू कुनै दबाब वा धम्कीबाट नडराउने बताए। “केपी ओलीलाई गिरफ्तार गर्न अनेक जालो बुनिँदैछ भन्ने सुनिन्छ, तर म भाग्ने मान्छे होइन,” उनले भने, “म स्पष्ट बोल्छु, देशको हितमा बोल्न छाड्दिनँ।”
उनले एमाले अहिले केही राजनीतिक दबाबमा परेको देखिए पनि पुनः बलियो रूपमा उभिने दाबी गरे। नेपाली जनताको देशभक्ति भावना बलियो रहेको भन्दै उनले राष्ट्रहितविपरीत गतिविधि नगर्न चेतावनीसमेत दिए।
ओलीले नेपालका छिमेकी मुलुकसँगका विवादहरू दुईपक्षीय संवादबाट समाधान गर्नुपर्ने धारणा पनि व्यक्त गरे। सीमा वा कूटनीतिक विषयमा तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने उनको भनाइ थियो। “छिमेकीहरूसँग कुनै विवाद छ भने दुई पक्षीय रूपमा बसेर समाधान गर्नुपर्छ,” ओलीले भने, “तेस्रो पक्षलाई सामेल गर्ने कुरा नेपालको स्थापित नीति होइन। नेपाल कुनै व्यक्तिको निजी सम्पत्ति होइन।”

