काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र ऐतिहासिक अवसरको रूपमा वर्णन गरेका छन्। भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेटका तस्बिर सार्वजनिक गरेका थिए। ती तस्बिर पुनः सेयर गर्दै लामिछानेले मोदीसँग करिब एक घण्टा लामो र उत्पादनमूलक छलफल भएको बताएका छन्।
“आज सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग एक घण्टा लामो उत्पादनमूलक कुराकानीमा सहभागी हुन पाउनु मेरा लागि अत्यन्त हर्षको विषय थियो,” लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत सीमाभन्दा माथि उठाएर विकास र समृद्धिको नयाँ आधारमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री मोदीले अघि सारेको ‘विकास कूटनीति’को अवधारणाप्रति आफ्नो सहमति रहेको उल्लेख गरेका छन्।
“नेपाल र भारतले विगतका सीमाहरूलाई नाघेर विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने मोदीजीको दृष्टिकोणप्रति म पनि सहमत छु,” उनले लेखेका छन्।
उनले साझा सभ्यता, डिजिटल कनेक्टिभिटी, पूर्वाधार विकास तथा आर्थिक सहकार्यलाई केन्द्रमा राखेर दुई देशबीच नयाँ साझेदारी निर्माण गर्न सकिने बताएका छन्।
“साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर हामी प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ,” लामिछानेको भनाइ छ।
रास्वपा सभापति लामिछानेले नेपाल र भारतका जनताको साझा समृद्धिका लागि सम्भावनाहरूलाई व्यवहारमा उतार्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन्। उनले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन रास्वपा सकारात्मक रहेको उल्लेख गरेका छन्।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी ९भाजपा० का शीर्ष नेताहरू तथा भारतीय विदेशमन्त्री एस। जयशंकरसँग समेत भेटवार्ता गरिसकेका छन्। यी भेटवार्तालाई नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा क्षेत्रीय हितका विषयसँग जोडेर हेरिएको छ।

