काठमाडौँ । ‘शरीर र मस्तिष्कलाई ऊर्जावान बनाउने’ दाबी गर्दै एक्सट्रिम इनर्जी ड्रिंक्स पछिल्लो समय नेपालभर आक्रामक प्रचार अभियानका कारण चर्चामा छ । ललितपुरस्थित एग्रो थाई फुड्स प्रालिले उत्पादन गर्ने ३३० मिलिलिटरको यो पेयलाई ‘गेम चेन्जर’ भन्दै बजारमा उतारेको छ ।
सार्वजनिक सवारी साधन, सडक किनारका होर्डिङ बोर्ड, किराना पसल, सुपरमार्केट, होटल, रेष्टुरेन्टदेखि सामाजिक सञ्जालसम्म यसको विज्ञापन छ्याप्छ्याप्ती देखिन्छ । तर, यसको स्वास्थ्य प्रभाव, लक्षित उपभोक्ता र नियमनको अवस्थाबारे भने गम्भीर प्रश्न उठ्न थालेका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक क्याफिनयुक्त पेय पदार्थको नियमित सेवनले बालबालिका तथा किशोरकिशोरीमा निद्रा समस्या, चिडचिडापन, तनाव, ध्यान केन्द्रित गर्न कठिनाइ, मुटुको धड्कन बढ्ने लगायत समस्या निम्त्याउन सक्छ ।
चिकित्सकहरु यस्ता इनर्जी ड्रिंक्समा हुने क्याफिन, टाउरिन र अन्य रसायनले विकासोन्मुख मस्तिष्कमा प्रतिकूल असर पार्न सक्ने बताउँछन् । विशेषगरी १८ वर्षभन्दा कम उमेर समूहका लागि यस्तो पेय जोखिमपूर्ण हुन सक्छ । तर, एक्सट्रिम इनर्जी ड्रिंक्सले बालबालिका, गर्भवती, स्तनपान गराइरहेका महिला, मधुमेह भएका व्यक्तिका लागि उपयुक्त नहुने भन्दै पन्छिएको छ ।
उपभोक्ता अधिकारकर्मी तथा डाक्टर भने कम्पनीले सार्वजनिक गरेको क्यानमा नै उमेर समूह तोक्नुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने इनर्जी ड्रिंक्सहरु खुलेआम बिक्री वितरण भैरहेको बताउँछन् । उनले नेपालमा क्याफिन रहित इनर्जी ड्रिंक्समात्रै बिक्री वितरण गर्न पाउने व्यवस्ता भएपनि पछिल्लो समय उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने इनर्जी ड्रिंक्सहरु बिक्री वितरण हुँदा समेत नियामक निकाय बेखबर बन्ने गरेको बताए ।
नियामक निकायको कमजोरीको फाइदा उठाउँदा बिक्री वितरण भैरहेको भन्दै उनले खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले तत्काल परीक्षण गर्नुपर्नेमा जोड दिए । अहिले बजारमा बिक्री वितरण भएको एक्सट्रिम इनर्जी ड्रिंक्समा कुन उमेर समूहले उपभोग गर्ने भन्ने विषयमा स्पष्ट नखुलाईएको उनी बताउँछन् ।
‘मैले पनि एक्सट्रिम इनर्जी ड्रिंक्सको धेरै विज्ञापन देखेको छु । धेरैले यसमा प्रश्न गर्दै आउनुभएको छ, हामी कहाँ पनि धेरै उजुरी तथा गुनासोहरु आएका छन्, नियामक निकाय अहिले मौन जस्तै छ, हामीले अहिले उठेका प्रश्नको जवाफ माग गरेका छाँै, अहिलेसम्म केही रेसपोन्स भएको छैन्, उनले भने ।
यस्तै, उनले भ्रमपूर्ण विज्ञापन गरेर उपभोक्तालाई आकर्षण गर्ने गरेको समेत बताए । ‘केही दिनअघि सो कम्पनीले एउटा वल्डर्कमा सुनको बल उपहार भन्दै भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रशारण गरेको मैले देखेको छु । यो सरासर भ्रामक हो । सुनको लोभ देखाएर उपभोक्ताको स्वास्थ्यमाथिको प्रत्यक्ष खेलवाड हो यो । यसको तुरुन्तै छानबिन हुनुपर्छ’, उनले भने ।
उनले स्वास्थ्यका लागि हानिकारक भनिरहँदा एक्सट्रिम इनर्जी ड्रिंक्सले उत्पादनको प्रचार–प्रसार भने निरन्तर बढिरहेको देखिन्छ । सार्वजनिक बस, माइक्रोबस, पसलका साइनबोर्ड, खेलकुद कार्यक्रम तथा डिजिटल प्लेटफर्महरूमा एक्सट्रिमको उपस्थिति बलियो बन्दै गएको छ । कतिपय विद्यालय आसपासका पसलहरूमा समेत यो पेय सजिलै उपलब्ध रहेको अभिभावकहरूको गुनासो छ ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता उत्पादनको विज्ञापन, बिक्री र उपभोगबारे प्रभावकारी नियमन गर्नुपर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायको हो । तर बजारमा एक्सट्रिमको बढ्दो पहुँच हेर्दा नियामक निकायको निगरानी पर्याप्त छ कि छैन भन्ने प्रश्न थप पेचिलो बन्दै गएको छ ।
तर, सरकारसँग भने इनर्जी ड्रिंक्सको गुणस्तर मापदण्ड नै नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता डा बाल कुमारी शर्माले नेपालमा गुणस्तरको मापदण्ड नै नभएको पुष्टि गरिन ।
‘सरकारले इनर्जी ड्रिंक्सको गुणस्तर मापदण्ड अहिलेसम्म बनाएको छैन् । अहिले हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई आधार बनाएर दिने हो’ उनले भनिन्, ‘एक्सट्रिम इनर्जी ड्रिंक्स उत्पादक कम्पनीले फूड लाइसेन्स लिएको छ । सोहीका आधारमा हामीले प्रक्रिया पुर्याएर अनुमति दिएको हो ।’
उनले लेवलिङमा कुनै समस्या नभएको उल्लेख गरिन । तर, उनले लेवलिङमा खासै समस्या नदेखिएपनि पछिल्लो समय कम्पनीले गरेको प्रचारप्रसार अत्यधिक हुँदा नकारात्मक कुराहरु उठ्न थालेको बताईन ।
‘अहिलेसम्म कम्पनीले उत्पादन गरेको ड्रिंक्समा समस्या भयो भनेर हामीकहाँ उजुरी आएको छैन् । कम्पनीको लेवलिङमा नै प्रष्ट उल्लेख छ । तर, प्रचारबढी हुँदा नकारात्मक कुराहरु आउन थालेको हुनसक्छ’, उनले भनिन ।
क्यानमा उल्लेख गरिएका विवरणअनुसार एक्सट्रिम इनर्जी ड्रिंक्समा क्याफिन, टाउरिन, ग्लुकुरोनोल्याक्टोन, इनोसिटोल, ग्लुकोज–फ्रुक्टोज सिरप, डेक्स्ट्रोज, चिनी तथा विभिन्न संरक्षक र रङ्गीन रसायनहरू मिसाइएको छ । १०० मिलिलिटरमा ३० मिलिग्राम क्याफिन रहेको उल्लेख गरिएको छ, जसअनुसार ३३० मिलिलिटरको एक क्यानमा करिब ९९ मिलिग्राम क्याफिन हुन्छ ।
डाक्टर यस्तो भन्छन्
दि हिमालयन हेल्थ मा कार्यरत डा. मनिष यादवले इनर्जी ड्रिंक्समा मिसाइएको कृत्रिम वस्तुहरु क्याफिन, टोरिन जस्ता मिश्रणहरुले मस्तिष्कलाई असर पार्ने बताए ।
उनले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत सचेतनामूलक भिडियो सन्देशहरु प्रकाशन तथा प्रशारण गर्दै आएका छन् । उनले सो भिडियो समेत जनचेतनाका लागि सार्वजनिक गरेको बताएका छन् ।
‘यस्तो इनर्जी ड्रिंकमा हुने भनेको केमिकल मात्रै हो, त्यसमा पनि विशेष क्याफिन, टाउरिन र अरु केमिकल हुन्छ जसले ब्रेनमा स्टिमुलेन्टको काम गर्छ, उत्तेजित पार्ने काम गर्छ’, उनले भनेका छन्, ‘यो क्याफिन अरु स्टिमुलेटिङ केमिकलहरू बच्चाहरूको बन्दै गरेको मस्तिष्कमा यसले विशेष किसिमको साइड इफेक्ट गराउँछ, यो केमिकलले बच्चाहरूको बन्दै गरेको मस्तिष्कलाई स्टिमुलेट गर्ने काम गर्छ’, उनले जोड दिएर भनेका छन् ।
उनले त्यस्तो साइड इफेक्टको गम्भीर असर १८ वर्षभन्दा मुनिका सबैलाई हुने बताए । उनले १५ देखि १८ वर्षसम्म उमेरकालाई जोखिम र १३ वर्षभन्दा कम उमेरकालाई विशेष जोखिम हुने समेत बताएका छन् ।
यसका साथै, यस्तो ड्रिंक्समा पाइने क्याफिनले बच्चामा विशेष प्रकारको साइड इफेक्ट गराउने समेत उनको भनाइ छ ।
‘एन्जाइटी, इरिट्याबलिटी त्यसैगरी एजिटेसन, एकदमै चिटचिट गर्ने बच्चा, निद्रा नलाग्ने जस्तो समस्या, बिहेभियर समस्या कहिले एग्रेसिभ भइदिने, पुअर कन्सन्ट्रेसन केही कुरामा ध्यान केन्द्र गरेर बस्न नसक्ने त्यो सँगै हातखुट्टा काँप्ने, टाउको दुख्ने यस्ता लक्षणहरू यिनीहरूमा देखिन्छन्’, उनले भनेका छन् ।
डा. यादवले कुनै समयमा यस्तो ड्रिंक्स बढी भयो भने मुटुको चालमा नै असर पुर्याउन सक्ने समेत बताएका छन् । साथै, बालबालिकाले नियमित प्रयोग गरे भने एडिक्सन समेत हुन सक्ने उनको भनाइ छ ।
विज्ञापन बोर्डबाट सेन्सर बिनै विज्ञापन प्रचार
एक्स्ट्रिमले विज्ञापन बोर्डबाट सेन्सर बीनै जतासुकै विज्ञापन प्रकाशन तथा प्रशासरण गर्दै आएको पाइएको छ । विज्ञापनको नियमन गर्ने निकायको रुपमा रहेको विज्ञापन बोर्डलाई जानकारी बिनै कम्पनीले जतासुकै आफ्नो विज्ञापन राख्दै आएको पाइएको हो ।
बोडका प्रमुख कार्यकारी अधिकृत देवी पाण्डेले एक्स्ट्रिमले हालसम्म विज्ञापनको सेन्सर नगरेको बताईन । उनले सेन्सर अनिवार्य नभएतापनि धेरै कम्पनीहरुले प्रसारणअघि सेन्सर गर्ने गरेको बताईन ।
‘मैले पनि बाटोभरी जतासुकै एक्स्ट्रिमको विज्ञापन देख्ने गरेको छु । तर, अहिलेसम्म कम्पनीका बारेमा अहिलेसम्म कुनै उजुरी तथा गुनासो आएको मैले थाहा पाएको छैन्, भ्रामक सूचना प्रशारण गरेको भए हामी छानबिन गछौँ’, उनले भनिन् ।
सुनको बल प्रलोभन
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेको आरोप लागेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले ग्राहकलाई सुनको बल भन्दै प्रलोभनमा समेत पार्ने गरेको पाइएको छ । कम्पनीले नयाँ योजना भन्दै विश्वकप २०२६ मा ‘स्क्यानमा सुन’ भन्दै प्रलोभन देखाउन थालेको छ ।
क्यूआर कोड स्क्यान गर्ने ३ ग्राहकलाई सुनको बल उपहार प्रदान गर्ने भन्दै भ्रामक विज्ञापन प्रकाशन गरेको छ । सुनको बल उपहारमा दिने भन्दै उपभोक्तालाई लोभ्याएर इनर्जी ड्रिंक्सको प्रमोसन गरेको उपभोक्ता अधिकारकर्मी तिमिल्सीना बताउँछन् । उनले सुनको बलमा नलोभिन समेत उपभोक्तालाई आग्रह गरे ।
कम्पनीले भने ‘स्क्यान मा सुन’ अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने दाबी गरेको छ ।
कर छलि
सार्वजनिक स्थानदेखि किराना पसल, सार्वजनिक सवारी साधन तथा स्टार होटलसम्म व्यापक प्रचारप्रसार गर्दै आएको एक्सट्रिम इनर्जी ड्रिंक्समाथि राजश्व छलीको आरोप लागेको छ । स्वास्थ्यका लागि उपयुक्त नभएको भन्दै चिकित्सकहरूले पटक–पटक चेतावनी दिँदै आए पनि उक्त पेय पदार्थ बजारमा व्यापक रूपमा बिक्री वितरण भइरहेको छ ।
जेठ १८ गते काभ्रे प्रहरीले बनेपा वडा नम्बर ७ को तरकारी बजारमा रहेको भेराइँटी बक्लेट स्टोरको गोदाममा बिलबीनाको ठूलो परिणममा एक्सट्रिम इनर्जी ड्रिंक्स बरामद गरेको थियो । प्रहरीले ५ लाख रुपैयाँ बराबरको १५० थान कार्टुन (एक काटुनमा २४ वटाका दरले ३६ सय) र बिएएम बिएएम लेखिएको ६ काटुन जुस बरामद गरेको थियो ।

