२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रास्वपा महाधिवेशन: मन्त्री र सांसदहरू नेतृत्वको...

रास्वपा महाधिवेशन: मन्त्री र सांसदहरू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएपछि ‘एक व्यक्ति-एक जिम्मेवारी’ को बहस

रास्वपा महाधिवेशन: मन्त्री र सांसदहरू नेतृत्वको प्रतिस्पर्धामा उत्रिएपछि ‘एक व्यक्ति-एक जिम्मेवारी’ को बहस

सीएनएन खबर
मंगलवार, आषाढ ९ २०८३१२:४०
सीएनएन खबर
मंगलवार, आषाढ ९ २०८३१२:४०
  • images

    चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा बहालवाला मन्त्री र सांसदहरूले पार्टीको केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिएर मत माग्न थालेपछि प्रतिनिधिहरूबीच 'एक व्यक्ति-एक जिम्मेवारी' को नीतिमाथि गम्भीर बहस सुरु भएको छ। शक्ति र जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुँदा नयाँ पुस्ताले अवसर नपाउने भन्दै देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वको यस कदमप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्।

    महाधिवेशन स्थल उद्योग प्रदर्शनी केन्द्रमा सोमबार दिउँसोदेखि सांसदहरू आशिका तामाङ, निशा डाँगी, तोसिमा कार्की र संघीय मामिलामन्त्री प्रतिभा रावललगायतका नेताहरू आफ्नो पक्षमा मत माग्न व्यस्त देखिएका छन्। मन्त्री रावलले उपसभापतिसहित केन्द्रीय सदस्यमा दाबी गरिरहँदा अन्य सांसदहरू पनि प्रतिनिधिहरूलाई भेटी आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्।

    सरकार र संसद्‌मा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरू नै पुनः पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रिएको भन्दै कतिपय प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्। सांसद र मन्त्री भइसकेका नेताहरूले सरकारी तथा संसदीय काममा ध्यान केन्द्रित गरी पार्टीको सांगठनिक जिम्मेवारी नयाँ अनुहारलाई हस्तान्तरण गर्नुपर्ने उनीहरूको माग छ।

    "देशको बागडोर सम्हाल्न र जनताको काम गर्न पठाइएका माननीय र मन्त्रीज्यूहरूले पार्टीको कार्यसमितिमा पनि दाबी गर्नु लोकतान्त्रिक अधिकार भए पनि नैतिकताका आधारमा नयाँलाई अवसर दिनुपर्ने हो," मधेस प्रदेशबाट आएका प्रतिनिधि गजेन्द्र ठाकुर र झापाकी प्रतिनिधि आकांक्षाले भनेका छन्, "सरकारको भूमिका बलियो बनाउनुपर्नेमा आन्तरिक प्रतिस्पर्धामा उत्रँदा अन्य आकांक्षीहरू छायामा पर्ने अवस्था सिर्जना भएको छ।"

    अर्कोतर्फ, उम्मेदवारी दाबी गरिरहेका सांसद तथा मन्त्रीहरूले भने पार्टीको संगठन निर्माण, अनुभवको प्रयोग र नीतिगत नेतृत्वका लागि केन्द्रीय समितिमा आफ्नो उपस्थिति आवश्यक रहेको तर्क गर्दै आएका छन्। पार्टीको विधानअनुसार लोकतान्त्रिक पद्धतिमा उम्मेदवार बन्न पाउने सबै सदस्यको समान अधिकार रहेको उनीहरूको भनाइ छ।

    आकांक्षीहरूको बाक्लो उपस्थितिले महाधिवेशनमा चुनावी प्रतिस्पर्धा तीव्र र रोचक बनेको छ। नयाँ कार्यसमितिमा संसदीय जिम्मेवारीमा रहेका स्थापित नेताहरूको निरन्तरता हुने वा नयाँ पुस्ताको उदय हुने भन्ने विषयले रास्वपाको आगामी वैचारिक र सांगठनिक दिशा तय गर्ने विश्लेषकहरूको भनाइ छ।


    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend