चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले महाधिवेशन उद्घाटन समारोहका अतिथिहरूमाथि गरेको अमर्यादित टिप्पणीप्रति पार्टीले आपत्ति जनाएको छ। रास्वपाका प्रवक्ता मनीष झाले आफैंले निमन्त्रणा गरेर बोलाएका पाहुनाहरूमाथि महाधिवेशनकै मञ्चमा गैरराजनीतिक र अमर्यादित टिप्पणी गरिनु गलत भएको बताएका हुन्।
महाधिवेशन स्थलमा आयोजित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता झाले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतका अतिथिहरूप्रति लक्षित टिप्पणीको आलोचना गरे। उनले लोकतान्त्रिक संस्कारअनुसार घरमा आएका पाहुनालाई निश्चित दायराभित्र रहेर सम्मान गर्नुपर्ने पार्टीको स्पष्ट मान्यता रहेको उल्लेख गरे।
"आफैंले बोलाएको पाहुनालाई गैरराजनीतिक टिप्पणी गर्नु सर्वथा गलत हो," रास्वपा प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूसँग भने, "पाहुनालाई बोलाइसकेपछि कम्तीमा एउटा निश्चित दायरामा सम्मान व्यक्त गर्नैपर्छ। राजनीतिक टिकाटिप्पणी र मूल्याङ्कन गर्ने ठाउँहरू निश्चित हुन्छन्। हामीले बोलाएर आउनुभएपछि उहाँहरू हाम्रा अतिथि हुनुहुन्छ, घरमै डाकेर अमर्यादित टिप्पणी गर्नु हाम्रो राजनीतिक संस्कार होइन।"
समारोहमा सांसद सुनारले अतिथि नेताहरूमाथि अमर्यादित शैलीमा राजनीतिक प्रहार गरेपछि महाधिवेशनको आन्तरिक वातावरण समेत तरंगित बनेको छ। पार्टीको मर्यादा र स्थापित आचरणविपरीत अभिव्यक्ति दिएको भन्दै सांसद सुनारमाथि कारबाहीको माग समेत उठ्न थालेको छ।
पार्टी नेतृत्वले यस घटनालाई गम्भीरतापूर्वक लिएको भए पनि तत्कालै कुनै कारबाहीको निर्णय भने नगरिने प्रवक्ता झाले प्रष्ट पारे। महाधिवेशनको प्रक्रिया चलिरहेकाले अनुशासनको विषय र कारबाहीको अन्तिम निर्णय महाधिवेशनबाट चयन हुने नयाँ केन्द्रीय समितिले नै गर्ने जानकारी पार्टीले दिएको छ।

