काठमाडौं । वर्षौंदेखि सहकारी संकटका कारण आफ्नो पसिना र परिश्रमको कमाइ फिर्ता पाउने आशामा दिन गनेर बसेका हजारौं बचतकर्तामध्ये केहीले राहतको शास फेर्न थालेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरणले संकट समाधानतर्फ केही सकारात्मक संकेत देखाएको छ । यद्यपि समस्या अझै विशाल छ, तर बचत फिर्ता, ऋण असुली र ऋण मिलानका कामले समाधानको यात्रा सुरु भएको सन्देश दिएको छ ।
समितिका सूचना अधिकारी अर्जुन पौडेलले हालसम्म ८ समस्याग्रस्त सहकारीका एक हजार चार सय ५२ बचतकर्ताले कुल ५१ लाख चार हजार पाँच सय ६९ रुपैयाँ फिर्ता पाएका छन् । यो रकम ठूलो नदेखिए पनि वर्षौंदेखि आफ्नो बचतको प्रतीक्षा गरिरहेका सर्वसाधारणका लागि भने आशाको पहिलो किरण बनेको छ ।
साना बचतकर्तालाई प्राथमिकता
समितिले सुरुमा दश हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको छ । यसले आर्थिक रूपमा सबैभन्दा बढी प्रभावित साना बचतकर्तालाई तत्काल राहत दिने नीति अवलम्बन गरिएको देखिन्छ ।
कार्यालयको तथ्यांक अनुसार हालसम्म कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ्स एण्ड क्रेडिट, पशुपति सेभिङ्स, नागरिक बचत तथा ऋण, ओरेन्टल को अपरेटिभ, गोरखा सेभिङ्स, शिव शिखर र लालीगुँरास बहुउद्देश्यीय सहकारी गरी आठ सहकारीका बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
तथ्यांक अनुसार सबैभन्दा बढी शिव शिखरका बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । १ हजार ४५२ बचतकर्तामध्ये शिवशिखरको मात्रै ८ सय ६९ जना बचतकर्ताले ३२ लाख ६६ हजार २४० रुपैयाँ बचत फिर्ता लगेका छन् । यस्तै, लालिगुँरासको २१८ जना, कान्तिपुरको २१५ जना, कृषि विकासको ८८, ओरेण्टलको २३, गोरखाको २६ जनाले बचत फिर्ता लगेका छन् ।
यी सहकारीहरूबाट रकम फिर्ता पाएपछि धेरै बचतकर्ताले कम्तीमा सरकारको पहल व्यवहारमा देखिन थालेको प्रतिक्रिया दिएका छन् । वर्षौंसम्म निराशा मात्र खेपेका उनीहरूका लागि रकम सानो भए पनि विश्वास भने ठूलो भएको छ ।
सहकारी संकटले आर्थिक क्षतिमात्र होइन, सामाजिक र मनोवैज्ञानिक असर पनि पारेको छ । धेरै परिवारले छोराछोरीको पढाइ, उपचार, विवाह तथा दैनिक खर्चका लागि बचत गरेको रकम गुमाए । कतिपयले ऋण लिएर जीवन चलाउनुप¥यो भने कतिपय वृद्धवृद्धाले जीवनभरको कमाइ सहकारीमै थन्किएको पीडा भोगे ।
यही कारण रकम फिर्ता हुनु भनेको केवल पैसा प्राप्त गर्नु मात्र होइन, राज्यप्रतिको विश्वास पुनः स्थापित गर्ने प्रयास पनि हो ।
१२ सहकारीको ऋण मिलान
समितिको प्रगति विवरणमा बचत फिर्ताभन्दा अर्को महत्वपूर्ण उपलब्धि ऋण मिलानलाई मानिएको छ ।
समितिले हालसम्म १२ सहकारीका ४३ ऋणीसँग ऋण मिलान गरिएको छ । ऋणीको बचत र ऋणको हिसाब मिलाएर दुवै पक्षलाई सहज बनाउने यो प्रक्रियाबाट लाखौं रुपैयाँ बराबरको दायित्व व्यवस्थापन भएको छ ।
ऋण मिलानमार्फत बचतकर्ताको बचत रकम ऋणमा समायोजन गरिएको, बाँकी रकम निर्धारण गरिएको तथा त्यसपछि ऋण असुली प्रक्रिया अगाडि बढाइएको छ । यस अवधिमा १२ सहकारीका ऋणीबाट एक करोड २० लाख ४६ हजार ९६९ रुपैयाँ ऋण असुली गरिएको छ । संकटमा परेका सहकारीका लागि यो महत्वपूर्ण उपलब्धि हो, किनकि ऋण असुली नै बचत फिर्ताको प्रमुख स्रोत बन्न सक्छ ।
धेरै समस्याग्रस्त सहकारीमा निक्षेप फिर्ता हुन नसक्नुको मुख्य कारण ऋण उठ्न नसक्नु हो । बचतकर्ताको रकम विभिन्न व्यक्ति तथा संस्थालाई ऋणका रूपमा गएको हुन्छ। ती ऋण समयमै असुली हुन सकेनन् भने बचतकर्तालाई पैसा फिर्ता गर्न सकिँदैन ।
त्यसैले अहिले समितिले बचत फिर्तासँगै ऋण असुलीलाई समानान्तर रूपमा अघि बढाइरहेको छ । ऋणीसँग वार्ता, ऋण मिलान, सम्पत्ति पहिचान तथा कानुनी प्रक्रिया एकसाथ अगाडि बढाइएका छन् ।
सम्पत्ति खोजी पनि तीव्र
समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वपदाधिकारीसँग सम्बन्धित सम्पत्तिको खोजी पनि तीव्र बनाएको जनाएको छ ।
समितिले २३ वटै समस्याग्रस्त सहकारीका सञ्चालक तथा ठूला ऋणिहरुको नामावाली समेत सार्वजनिक गरिसकेको छ । समितिले जेठ महिनामा २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको हो ।
समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरुका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।
साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका संचालकहरुले सम्वन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ती र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ । अन्यथा कानून बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
बचत अपचलनमा संलग्न व्यक्तिको सम्पत्ति पहिचान गरेर त्यसलाई व्यवस्थापनमा ल्याउन सके भविष्यमा थप बचतकर्ताले रकम फिर्ता पाउने सम्भावना बढ्ने समितिको विश्वास छ ।
पहिलै वितरण गरिएको थियो ४ अर्ब बचत
समितिले यसअघि पनि समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्दै आएको थियो । अघिल्लो आर्थिक वर्षसम्म समितिले २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान गरिसकेको थियो ।
२०८२ को असार मसान्तसम्म समितिले विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिसकेको थियो । समितिको अघिल्लो वर्षको तथ्यांक अनुसार ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी गरेका थिए । त्यसमध्ये समितिले विभिन्न प्रक्रियामार्फत ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता तथा दायित्व मिलान गरिसकेको थियो ।
अघिल्लो वर्षसम्म ३८ अर्ब मागदाबी रहेकोमा हालसम्म ४४ अर्बभन्दा बढी मागदाबी रहेको समितिले जनाएको छ । सूचना अधिकारी पौडेलले हाल ४० हजारभन्दा बढी बचतकर्ताले ४४ अर्बभन्दा बढीको मागदाबी गरेको बताए ।
नयाँ प्रणालीको विकास
समितिले लोन क्यालकुटेसन म्यानेजमेन्ट सिष्टमबाट ऋणीको वास्तविक दायित्व गणना गर्दै आएको छ । त्यस्तै, अनलाइन मागदाबी प्रणालीलाई थप व्यवस्थित बनाइएको छ । मागदाबी प्रमाणीकरण, एकीकृत विवरण, प्रतिवेदन प्रणाली तथा बचतकर्ताले आफ्नै मागदाबीको अवस्था अनलाइनबाट हेर्न सक्ने सुविधा पनि विकास गरिएको छ । यसले पारदर्शिता बढाउने र सेवाग्राहीको झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।
हजारौं मागदाबी अझै प्रमाणीकरणको प्रतीक्षामा
समितिका अनुसार करिब ४४ हजार मागदाबी प्रमाणीकरणको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको छ । सबै विवरण प्रमाणीकरण भएपछि बचत फिर्ताको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
यसले अहिले रकम फिर्ता पाएका १,४५२ जनामात्र होइन, भविष्यमा हजारौं थप बचतकर्ताले राहत पाउने आधार तयार गरिरहेको देखिन्छ ।
चुनौती अझै बाँकी
यद्यपि अहिले देखिएको प्रगति उत्साहजनक भए पनि समस्या समाधान भइसकेको भने छैन । समस्याग्रस्त सहकारीमा अर्बौं रुपैयाँ बराबरको बचत फसेको छ । हजारौं बचतकर्ता अझै रकमको प्रतीक्षामा छन् । कतिपय सहकारीको सम्पत्ति व्यवस्थापन, कानुनी विवाद तथा ऋण असुली प्रक्रिया अझै जटिल अवस्थामै छन् ।
यसकारण बचत फिर्ताको गति अझ तीव्र बनाउन ऋण असुली प्रभावकारी बनाउनु, सम्पत्ति व्यवस्थापन छिटो गर्नु तथा कानुनी प्रक्रियालाई सरल बनाउनु आवश्यक देखिन्छ ।
सहकारी संकट समाधान एक दिन वा एक महिनामा सम्भव हुने विषय होइन । तर हालसम्मको प्रगति विवरणले एउटा महत्वपूर्ण सन्देश काम अघि बढेको दिएको छ ।
एक हजार चार सय ५२ बचतकर्ताले रकम फिर्ता पाउनु, ऋण मिलान विस्तार हुनु, एक करोडभन्दा बढी ऋण असुली हुनु, नयाँ प्रविधि लागू हुनु र सम्पत्ति खोजीलाई व्यवस्थित बनाइनु सहकारी संकट समाधानको यात्रामा सकारात्मक संकेत हुन् ।
अब यही गति कायम राख्न सके हजारौं बचतकर्ताको वर्षौंदेखिको प्रतीक्षा अन्त्य हुने आशा गर्न सकिन्छ । सहकारीमा हराएको विश्वास पुनःस्थापित गर्न यस्ता परिणामलाई अझ व्यापक र प्रभावकारी बनाउनु नै सरकार, व्यवस्थापन समिति र सम्बन्धित सबै निकायको सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ ।
समितिले ८ वटाका सहकारीमा १० हजारभन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरेसकेको भन्दै छिट्टै बाँकी रहेका सहकारीका बचकर्ताको रकम फिर्ता गर्ने जनाएको छ । २३ वटै समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्तापछि थप निर्णय गरेर बाँकी बचतकर्ताको बचत रकम फिर्ताको तयारी थालिने सूचनाअधिकारी पौडेलले बताए ।

