२०८३, आश्विन २० गते

images
  • समाचार
  • राहदानी विभागले सुरु गर्‍यो नयाँ प्रणाली,...

राहदानी विभागले सुरु गर्‍यो नयाँ प्रणाली, सेवामा सामान्य ढिलाइ हुन सक्ने

राहदानी विभागले सुरु गर्‍यो नयाँ प्रणाली, सेवामा सामान्य ढिलाइ हुन सक्ने

सोमवार, आषाढ २९ २०८३१०:२६
सोमवार, आषाढ २९ २०८३१०:२६
  • images

    काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो राहदानी डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

    विभागले जारी गरेको सूचनाअनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। विभागका अनुसार यो परिवर्तनसँगै राहदानी सेवा थप आधुनिक, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनपश्चात् सुरुआती दिनमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिन सक्ने जनाएको छ। यस्ता समस्याको समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा स्ट्यान्डबाइ अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले जनाएको छ।

    विभागले प्रारम्भिक चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन आग्रह गरेको छ। यसबाट नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको विश्वास छ।

    साथै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन विभागले अनुरोध गरेको छ।

    राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको दोहोर्याउँदै सेवाग्राहीहरूको विश्वास, धैर्यता र सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend