काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। गोली लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए।
प्रहरीका अनुसार घटनामा नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच तथा प्रदर्शनकारी पक्षका नौ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार बोलबम यात्राका लागि एउटा समूह ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेको थियो। त्यस क्रममा अर्को समूहले होहल्लाको विरोध गरेपछि दुवै पक्षबीच विवाद चर्किँदै झडप भएको थियो।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको र भीड नियन्त्रणका क्रममा गोली चलाउनुपरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

