काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा घोषणा गरेको छ। घटनापछि क्षेत्रको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ भने कर्फ्यु आदेशका बीच पनि प्रदर्शन जारी रहेको छ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै साउन ११ र १२ गते गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाबाहेकका अन्य कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्। गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
आइतबार राति बोलबम यात्राको तयारीका क्रममा डिजे बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद भएपछि स्थिति हिंसात्मक बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा गोली लागेर स्थानीय मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, सुनिलकुमार मेहतालगायत नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र कोशी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। सर्वसाधारण र सुरक्षाकर्मी गरी कम्तीमा २२ जना घाइते भएको जनाइएको छ। तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै अस्पताल पुगेका सुनसरी–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले प्रहरीले हतारमा गोली चलाउँदा एक युवाको ज्यान गएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवार सुरक्षा अधिकारीमाथि कारबाहीको माग गरेका छन्।
स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा तथा देवानगञ्जको कप्तानगञ्ज र बजार क्षेत्रलगायत पाँच स्थानमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
तर कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीहरूले विभिन्न स्थानमा आगजनी, तोडफोड र विरोध प्रदर्शन जारी राखेका छन्। अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ भने सुनसरी प्रशासनले सुरक्षा व्यवस्था थप कडा पार्दै परिस्थिति सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।

