काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो।
सीआईबीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको थियो भने हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट नियन्त्रणमा लिइएको हो।
गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको Organizational Behaviour विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमार्फत सार्वजनिक भएको घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। यस प्रकरणमा यसअघि नै एक जनालाई पक्राउ गरिसकेको छ।
सीआईबीले प्रश्नपत्र लिक प्रकरणमा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

