काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार ओरालो लागेको बजारले मंगलबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३१ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले घटेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा मंगलबार ३४२ वटा कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता शेयर ५५ हजार ५८० पटक किनबेच हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन पनि एभरेष्ट कलर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ११२ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, लक्ष्मी उन्नति कोषको इकाइ मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, कारोबारमा आएका कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २७ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढी तथा सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूह ओरालो लागेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको भए पनि बाँकी उपसमूहहरूमा गिरावट आएको छ।

